Main News

बीपी स्वास्थ्य प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको कांग्रेसको आरोप

हिमालय टिभी
२०७८ असार २५ गते १५:१६
बीपी स्वास्थ्य प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको कांग्रेसको आरोप

२५ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसले धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको आरोप लगाएको छ ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनादेखि चिकित्सक, विद्यार्थी र कर्मचारीले गरिरहेका आन्दोलनलाई सम्बोधन गर्न कुनै पहल नगरेको कांग्रेसको आरोप छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा प्रधानमन्त्री ओली कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बसेको र त्यो गैरजिम्मेवारी भएको उल्लेख छ ।

कोरोना महामारीका बेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्ने कांग्रेसले बताएको छ । तर यसको हेक्का कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएको कांग्रेसको आरोप छ ।

प्रतिष्ठानभित्रका अनियमिता र अराजकताको ढाकछोप नभई उपचार गर्नुपर्ने आवश्यकता रहेकोमा कांग्रेसले जोड दिएको छ । कांग्रेसले संवादमार्फत जायज माग सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चारजना पदाधिकारीको बहिर्गमनको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाज २५ दिनदेखि आन्दोलनमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *