अविरल वर्षापछिको बाढी र पहिरोबाट देशका विभिन्न भूभागमा क्षति, सतर्कता अपनाउन सुझाव
२५ असार २०७८ काठमाडौं । अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्याएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिम बढी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मनसुनी सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ।
आज नारायणी, बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी, सप्तकोशी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोर लगायतका नदीहरूमा पानीको बहाव बढ्न सक्ने महाशाखाको अनुमान छ । निरन्तरको वर्षाले नारायणी नदीमा पानीको बहाव बढेको छ ।
विज्ञप्ति निकालेर महाशाखाले चितवनको गोविन्द बस्ती, रिउखोला र कल्याणपुरमा ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा आज दिनभर विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया