Main News

कोरोनाविरुद्धको खोप लिन वायुसेवा निगमको वाइडबडी जहाज चीन जाँदै

हिमालय टिभी
२०७८ असार २४ गते ७:२१
कोरोनाविरुद्धको खोप लिन वायुसेवा निगमको वाइडबडी जहाज चीन जाँदै

४ असार २०७८ काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ । बेलुकी जाने जहाज खोप लिएर भोलि फर्कने छ ।

आजदेखि साउन ८ गतेसम्म चीनबाट तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । सरकारले जीटुजीमार्फत चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउन लागिएको हो ।

आधिकारिक खोपको मात्रा कति हो भन्ने अझै खुलाएको छैन । भोलि पहिलो पटक ल्याइसकेपछि खोपको मात्रा यकिन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

खोप ल्याउन असार ३१ र साउन ७ गते गरी तीनवटा उडान हुनेछन् । खोप आइसकेपछि ५५ वर्षभन्दा माथिका नागरिकलाई प्रथामिकताका आधारमा लगाउने प्रवक्त्ता डा पौडेलले बताउनुभयो ।

यस्तै कोभ्याक्स सुविधामार्फत प्राप्त छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिनुभयो ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका दुई करोड २० लाख मानिसलाई खोप लगाउने लक्ष्य लिइएको छ ।

अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको छ ।

यसैबीच कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेदेखि पहिलो मात्रा डोज लगाउन सरकारले नागरिकबाट मागेको आवेदनमा करिब १४ लाखले स्वैच्छिक आवेदन दिएका छन् ।

सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण मागेको थियो । तर आवेदन दिनेले अहिले नै खोप पाउँछन् भन्ने नरहेको खोप सल्लाहकार समितिका संयोजक डा तारानाथ पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *