Main News

साउनपछि अवैैध मोबाइल सेट नचल्ने, उपहारमा आएको फोन कसरी चल्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २३ गते १८:५०
साउनपछि अवैैध मोबाइल सेट नचल्ने, उपहारमा आएको फोन कसरी चल्छ ? (भिडियो रिपोर्टसहित)

२३ असार २०७८ काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिनेगरी काम भइरहेको बताउनु भयो । साउन महिनाभरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनु भयो ।

प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन आग्रह गर्नुभयो । अहिले मिडियामा आएजस्तो, विभिन्न सामाजिक संजालमा भेटिएको गलत सूचनामा विश्वास नगर्न प्राधिकरणका अध्यक्ष खनालले सचेत गराउनु भयो ।

साउन महिनापछि भने आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकाले दर्ता गर्न अनुरोध गर्नुभयो । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम लागू हुने भएकाले अवैध रुपमा भित्रिएका मोबाइल सेट नचल्ने हुन सक्छ ।

नेपाल सरकारले आगामी बर्षको बजेट सार्वजनिक गर्दा एमडीएमएस लागू गर्ने घोषणा गरेको छ । एमडीएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्न सक्दैनन् । अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखेपनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडीएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन् ।

मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष समेत रहनुभएका नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष दिपक कुमार मलहोत्राले एमडीएमएस प्रणाली लागू भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताउनुभयो । करिब ४० अर्बको मोबाइल कारोवारमा १३ अर्बको कारोबार अवैध हुने बताइन्छ ।

एमडीएमएस प्रणालीले सबै कारोवारलाइ वैध मार्गमा लैजाने उहाँले बताउनुभयो । यसले राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मलहोत्राले बताउनुभयो ।

यस्तै एमडीएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दुरुपयोग गरेर हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उपाध्यक्ष मलहोत्राले बताउनुभयो । एमडीएमएस प्रणाली पहिलोपटक लागू हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाइल कसरी चल्न दिने भन्ने बारे मोबाइल फोन आयातकर्ता संघसँग दूरसंचार प्राधिकरणले छलफल गरिरहेको छ ।

छलफलको क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफुहरुले दिएको अध्यक्ष मलहोत्राले बताउनुभयो ।

यस्तै पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र फेरि सुचारु गर्नपरे भिषा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दुरसञ्चार प्राधिकरणलाई संघले सुझाव दिएको छ ।

यसैगरी उपहारमा आएको फोनलाई दर्ता गर्नु अघि भन्सारको प्रक्रिया पूरा गरेर मात्रै चल्न दिने व्यवस्था मिलाउन सुझाव दिएको अध्यक्ष मलहोत्राले बताउनुभयो । उपहार आएको फोन पहिलो १५ दिन चलाउन कुनै बाधा नगर्न पनि सुझाव दिएको उहाँले बताउनुभयो ।

एमडीएमएस लागु भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पूर्ण मोबाइल फोनको आईएमईआई नम्बर दुरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र विक्री वितरण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *