माओवादी केन्द्रको दर्ता खारेजीको माग गर्दै एमाले प्रवेश गरेका नेताहरुद्वारा आयोगमा उजुरी
२३ असार २०७८ काठमाडौं । माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिएको हो । यो समूहले माओवादी केन्द्र खारेजीको माग गरेको छ ।
माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका लिलबहादुर थापा लगायतका नेता आयोग पुग्नुभयो ।
सर्वोच्च अदालतले फागुन २३ मा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको थियो ।
त्यही कारणका कारण उनीहरुको सांसद पद गयो । अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित पद गएको उनीहरुको तर्क छ।
निर्वाचन आयोगमा उजुरी दिएपछि सर्वोच्च अदालतमा पनि नेकपा माओवादी केन्द्रको वैधानिकताबारे रिट दिनेबारे यो समूहले कानूनविद्सँग छलफल गरिरहेको छ ।
प्रतिक्रिया