राजनीति

कूटनीतिक असफलताका कारण खोप आउन सकेन, सरकार कमिशन एजेण्टहरुको घेरामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २३ गते १४:४१
कूटनीतिक असफलताका कारण खोप आउन सकेन, सरकार कमिशन एजेण्टहरुको घेरामा (भिडियो रिपोर्टसहित)

२३ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिडविरुद्धको खोप आउन नसकेको आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको हो । अपरिपक्क कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उहाँले गर्नुभयो ।

दक्षिण एसियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भूटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकत्वमा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिदै उहाँले “ सरकार किन फेल भयो ?” भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा फेल भएको स्थिति छ । कूटनीतिक प्रयासहरु फेल भएकोे छ । यो कसरी भयो किन फेल भयो ? ती देश र ती कम्पनीहरुसँगको नेपालको सम्बन्ध किन चिसो भयो ? नेपाल सरकारसँग किन डिल गर्न चाहेनन् । दक्षिण एसियाका ४ वटा देशले ल्याउन सफल भए नेपालले ल्याउन सकेन । यो कुरा महशुस गर्ने कि नगर्ने ? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरहरुसँग तुलना नगरियोस् । यो मेरो प्रश्न हो । फेल भएको हो कि होइन सरकार ? यो महशुस गर्ने कि नगर्ने ? ”

राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंकित गर्दै उहाँले खोप किन आउन सकेन भनेर आफुले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गर्नुभयो । ओलीले राष्ट्रियसभाको सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गर्नुभएको थियो ।

कमिशन एजेण्टहरुको घेराउमा सरकार
उहाँले वर्तमान सरकार कमिशन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गर्नुभयो । उहाँले कमिशनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गर्नुभयो । कमिशन एजेण्टले पैसा नपाएका कारणले कोभिडशिल्ड खोप नआएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “कोभिडसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पूर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले भनिसक्नुभएको छ कमिशनको खेलको कारण । कमिशन एजेण्टहरुले अहिलेको सरकारलाई घेरिराखेको छ । मेरो आरोप त्यो छ । ”

उहाँले सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न नसकेकै कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “परराष्ट्र मन्त्रालयलाई पंगु बनाइएको छ । अहिलेको सरकारले परराष्ट्र मन्त्रीलाई पंगु बनाएको छ । कार्यकर्तालाई भर्ति गर्ने केन्द्र बनाएको छ । डिप्लोमेसीको डि नजान्नेले पोलिटिकल लिडरसिप लिएको छ । सरकारको गलत नीतिका कारण परराष्ट्रमन्त्रालयले काम गर्न सकिरहेको छैन । त्यही कारणले डिप्लोमेटिक डिलिङ कम्पिट फेल भएको छ । कूटनीतिक फेलियरका कारण हामीले खोप ल्याउन सकिरहेका छैनौ । यसलाई रियालाइज गर्न सरकार तयार छ कि छैन ? सरकारले आफ्नो फेलियरलाई लुकाउनका लागि सम्मानित संस्था राष्ट्रपतिको संस्थालाई चिठी लेखाउने हो ? म त यसलाई चाइल्डलिस्ट डिप्लोमेसी भन्छु । बच्काना कूटनीतिक मुभ भन्छु यसलाई । गल्ती गरेको छ नेपाल सरकारले रियलाइज गर्ने कि नगर्ने ? राष्ट्रपतिबाट खोप ल्याउने सन्दर्भमा चिठी लेखाउने कामै गर्नु हुँदैनथ्यो । गर्नै हुँदैनथ्यो । मेरो च्यालेञ्ज छ । ”

राष्ट्रियसभा सदस्य देवले कूटनीतिक असफलताका कारण नेपालले अन्तर्राष्ट्रिय विश्वसनियता गुमाइसकेको र अन्ततः एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गर्नुभयो । परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रा परम्परागत मित्रहरु चीन भारत, अमेरिका, जापान, जर्मनी फ्रान्सजस्ता देशहरु र हाम्रो रिलेसन कोल्ड भयो । नेपाली कांग्रेसको चासो त्यो हो । सम्बन्धलाई बनाउन, मिठास बनाउ प्रोएक्टिभ बनाउन मुलुकले धेरै मेहनत गर्नुपर्नेमा त्यसो हुन नसकेकाले एउटा देशमा मात्रै सीमित हुनु परेको छ । ”

उहाँले बैदेशिक नीतिको सञ्चालन कच्चा ढंगले गरेकाले नेपाल अहिले एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गर्नुभयो । उहाँले कोरोना महामारी विश्वव्यापी समस्या भएको भन्दै नेपाली कांग्रेस रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधैँ तयार रहेको बताउँदै आए पनि सरकारले प्रतिपक्षी दलहरुसँग कहिले पनि सहयोग नमागेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्