कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, २६३४ संक्रमित थपिए
२२ असार २०७८ काठमाडौं । नेपालमा केही समयदेखि कोरोना संक्रमण स्थिर देखिएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि संक्रमणदर भने घट्न सकेको छैन ।
पछिल्लो पटक २ हजार ६ सय ३४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ५ सय ३ पीसीआर परीक्षणमा १ हजार ७ सय १८ र ५ हजार ८२ एन्टिजेन परीक्षण गर्दा ९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा पनि संक्रमणदर स्थिर देखिएको छ । पछिल्लोपटक उपत्यको तीन जिल्लामा ४ सय ९९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय ६५, ललितपुरमा १ सय ५ र भक्तपुरमा २९ जना नयाँ संक्रमित भेटिएका छन् ।
काठमाडौंबाहिर झापा, मोरङ, सुनसरी र कास्कीमा एक सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ भने १५ सय ६५ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २५ हजार ८ सय २८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया