Main News

विवाद समाधानको प्रयासमा एमाले कार्यदल

हिमालय टिभी
२०७८ असार २२ गते १५:११
विवाद समाधानको प्रयासमा एमाले कार्यदल

२२ असार २०७८ काठमाडौं । विवाद समाधान गरी पार्टी एक बनाउने उपाय खोज्न नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका छन्।

हिजोदेखि काम थालेको कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गर्ने गरी सहमतिका विषय तयार पार्नेछ ।

कार्यदलमा ओली पक्षको नेतृत्व सुवासचन्द्र नेम्वाङ र नेपाल खनाल पक्षको नेतृत्व भीम रावलले गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरकफरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेता सक्रिय भएर लागेका छन्।

नेपाल–खनाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने र ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

पहिले कार्यदल ब्यूँताउन नमानेको अध्यक्ष ओलीले हिजो एकाएक कार्यदल ब्यूँताएर फेरि सहमतिका लागि प्रयास अघि बढाउनुभएको छ । दोस्रो तहका नेताहरूले अनौपचारिक छलफलबाट तयार पारेको तीनबुँदे सहमतिको मस्यौदालाई अन्तिम रूप दिने गरी छलफल अगाडि बढेको कार्यदलमा सहभागी नेताहरूले बताएका छन् ।

हिजोको बैठकमा अनौपचारिक तहमा भएका समझदारीबारे रिपोर्टिङ भएको र आज टुंग्याउन बाँकी विषयमा समझदारी जुटाउन छलफल केन्द्रित हुने उनीहरूको भनाइ छ ।

अहिलेसम्म पार्टीलाई ०७५ जेठ २ सम्मको सांगठनिक संरचनाबाट अगाडि बढाउने, सर्वोच्च अदालतमा दायर रिटका फैसलालाई मानेर जाने विषयमा समझदारी जुटेको बताइएको छ। तर पूर्वमाओवादीबाट आएका नेताको व्यवस्थापन, एमालेको केन्द्रीय कमिटी २ सय ३ वा २ सय ४१ सदस्यीय भन्नेमा अझै सहमति हुन बाँकी छ ।

२४१ हुँदा माधव पक्षबाट छुटेका वरिष्ठ नेताहरुलाई थप्ने प्रस्तावमा पनि सहमति हुन बाँकी रहेको कार्यदलका ती सदस्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *