Main News

शिक्षामन्त्री श्रेष्ठविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही माग गर्दै सर्वोच्चमा रिट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते १९:०३
शिक्षामन्त्री श्रेष्ठविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही माग गर्दै सर्वोच्चमा रिट (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई जातीय भेदभाव तथा छुवाछूतको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सञ्चारकर्मी रुपा सुनारले शिक्षामन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र घरधनी सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दायर गर्नु भएको हो ।

रिटमा कानूनद्वारा बर्जित जातीय भेदभाव तथा छुवाछूतको मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले प्रभावित पारेकाले कानून बमोजिम कारबाही गर्न माग गरिएको छ ।

सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेकाले श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाको माग छ । मन्त्री श्रेष्ठविरूद्धको उजुरी प्रहरीले लिन नमानेकाले उजुरी लिँदै अनुसन्धान अघि बढाउन आदेश दिन पनि रूपाको माग छ ।

पीडकले प्रमाणहरु नष्ट गर्न सक्ने र उच्च पदका व्यक्तिहरु मार्फत अनुसन्धानमा बाधा उत्पन्न गरेकाले प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न पनि माग गरिएको छ ।

असार ३ गते सुनारले आफूमाथि जातीय विभेद गरी बबरमहलकी प्रधानले कोठा नदिएको भन्दै महानगरीय प्रहरी वृत्तमा उजुरी दिनुभएको थियो । त्यसको आधारमा प्रहरीले असार ६ गते प्रधानलाई पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

हाजिरी जमानीमा छुटेकी प्रधानलाई लिन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुग्नु भएको थियो । श्रेष्ठले सवार मन्त्रालयको गाडीमा हालेर प्रहरी चौकीबाट प्रधानलाई घरसम्मै पुर्‍याउनु भएको थियो ।

त्यसको चौतर्फी विरोध भएपछि मन्त्री श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग समक्ष माफी मागिसक्नु भएको छ । प्रधानले भने आफूले जातको आधारमा कोठा नदिएको कुरा झूटो भएको भन्दै रुपाकैविरुद्ध आयोगमा उजुरी दर्ता गर्नूभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *