Main News

संसद विघटनविरुद्धको मुद्दामा आज सभामुख पक्षका कानून व्यवसायीले बहस गर्ने

हिमालय टिभी
२०७८ असार २० गते ७:५४
संसद विघटनविरुद्धको मुद्दामा आज सभामुख पक्षका कानून व्यवसायीले बहस गर्ने

२० असार २०७८ काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानून व्यवसायीले बहस गर्दै छन् ।

गएको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीको बहस सकिएपछि यो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । सभामुख सापकोटा तर्फका कानून व्यवसायीका लागि दुई घण्टा समय तोकिएको छ ।

सभामुख सापकोटातर्फका कानून व्यवसायीको बहस सकिएपछि रिट निवेदकका कानून व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन् ।

यस्तै एमिकस क्युरीमा रहेका चार सदस्यले अन्तिममा आफ्नो राय प्रस्तुत गर्नेछन् । उनीहरुका लागि ३०–३० मिनेट गरेर जम्मा दुई घण्टाको समय छुट्याइएको छ ।

अहिलेसम्म प्रतिनिधि सभा विघटनविरुद्ध रिट निवेदन दायर गर्नेतर्फबाट ३६ जना, सरकारी वकिल ११ जना र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु अग्नि खरेल, सुशील पन्त, सुरेन्द्र भण्डारीलगायतले बहस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबीलाई अस्वीकृत गर्दै प्रतिनिधि सभा विघटन गरेपछि अहिले यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ ।

यो हप्ताभित्र यो मुद्दाको अन्तिम किनारा लाग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *