Main News

देशभर भारी वर्षा, मुख्य तथा सहायक नदीहरुमा जलप्रवाह बढ्यो, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७८ असार १९ गते ७:५५
देशभर भारी वर्षा, मुख्य तथा सहायक नदीहरुमा जलप्रवाह बढ्यो, सतर्कता अपनाउन सुझाव

१९ असार २०७८ काठमाडौं । देशका विभिन्न ठाउँमा रातभरी ठूलो पानी परेको छ । तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेको छ ।

यी नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैगरी गोरखा, लमजुङ, मकवानपुर, सुनसरी, सिन्धुली, बारा लगायतका ठाउँमा पनि ठूलो पानी परिरहेकाले ती ठाउँका नदी खोलामा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । तटीय क्षेत्रहरु र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सुनसरी र सप्तरीको सीमा भएर बग्ने कोसी नदीमा जलस्तर बढेको छ । पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भइरहेकाले बगेर आउने नदी, खोलाहरु मिसिएर कोसीमा पानी बढेको हो ।

गएराती कोसी ब्यारेज भएर एक लाख ५५ हजार ९ सय ७५ क्युसेक पानी बगिरहेको नियन्त्रण कक्षले जनाएको छ । सामान्य दिनहरुमा करिब ७० हजार क्युसेक हाराहारी पानी ब्यारेज भएर बग्ने गरेको थियो ।

पानीको बहाव बढेसँगै निकासका लागि कोसी ब्यारेजका २४ वटा ढोका खुला गरिएको नियन्त्रण कक्षले जनाएको छ । कोसीमा जलस्तर बढे पनि तत्काल कुनै खतरा नभएको सुनसरी प्रशासनले जनाएको छ ।

कोसी नदीमा जलस्तर बढ्ने क्रम गत सातादेखि नै चलिरहेको छ । बिहीबार र शुक्रबार भने अलि बढी परिमाणमा पानीको बहाव भएको हो । प्रशासनले नदीको तटीय क्षेत्रमा कुनै खतरा नरहे पनि सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ ।

रौतहट कर्मैयाको बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रहरू र डुबान भइरहने होचा स्थानमा हुनेहरूले उच्च सतर्कता अपनान विभागले आग्रह गरेको छ ।

ईलाम, झापा, मोरङको धेरै स्थानमा भारी बर्षा भइरहेको र र थप बर्षा हुने भएकाले मेचि, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावारतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *