राजनीति

देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिन एमालेको अल्टिमेटम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते २०:१४
देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिन एमालेको अल्टिमेटम (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्तालाई पार्टी एकताको शर्त बनाएको छ ।

शुक्रबार बसेको संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन नेपाल–खनाल पक्षलाई निर्देशन दिएको छ । सोमबारसम्म २३ जना निवर्तमान सांसदको हस्ताक्षर फिर्ता नभए एकता हुन नसक्ने संस्थापन पक्षको निष्कर्ष छ ।

बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने पनि प्रष्ट पार्नुभयो । ओलीले देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदलाई छुट नभएको बैठकमा बताएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

दोस्रो तहका केही नेताले पार्टी मिल्ने आधार बनिसक्यो भनिरहेका बेला अध्यक्ष ओलीका तर्फबाट शर्त आएको छ । यसले एमालेमा विवाद थप चर्किने देखिएको छ । तोकिएको समयभित्र हस्ताक्षर फिर्ता नभए त्यो पार्टी फूटको घोषणा हुने अध्यक्ष ओलीको तर्क छ ।

हस्ताक्षर फिर्ता लिन नेपाल खनाल पक्षलाई सोमवार बेलुकी पाँच बजेसम्मको समय दिइएको छ । प्रवक्ता ज्ञवालीका अनुसार देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर संविधान, लोकतन्त्र, देश र जनताको विरुद्धमा भएकोले फिर्ता लिन आह्वान गरिएको छ ।

अदालतमा मुद्दा चलिरहेका बेला एमालेले ती हस्ताक्षर अवैधानिक हुने भनेर सम्बन्धित निकायमा जानकारी गराउने निर्णय पनि गरेको छ । आफूले एकताका लागि पहल गर्दा पनि सफल नभएको ओलीको गुनासो छ ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर भेटौं भन्दा नमानेको अध्यक्ष ओलीले बैठकमा गुनासो गर्नुभएको छ । र, माधवकुमार नेपाल लगायतका केही नेता एकताको पक्षमा नदेखिएको एमाले संस्थापन पक्षको बुझाई छ ।

ओलीले नेपाललाई विहीबार बेलुकी नेपाललाई टेलिफोन गर्नुभएको थियो । फोन संवादमा नेपाल कडा रुपमा प्रस्तुत भएको बताइएको छ । यही विषयलाई ओलीले बैठकमा उठाउनुभएको हो ।

नेपाल खनाल समूहको असहमतिका बीच शुक्रबार संस्थापन पक्षले केन्द्रीय कमिटी बैठक बसालेको छ । बालुवाटारमा बसेको बैठकमा नेपाल खनाल समूहका नेता भने सहभागी भएनन् ।

नेपाल–खनाल समूहका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बालुवाटार पुगेर बैठक सार्न आग्रह गरे पनि अध्यक्ष ओलीले अश्विकार गर्नुभयो । त्यतिमात्रै होईन, एकताका लागि शर्त अघि सार्नुभएको छ । र, यो शर्तले एमाले मिलनतिर होईन, थप विवादतिर जाने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्