आज देशका अधिकांश स्थानमा वर्षा, बाढी र पहिरोको जोखिम क्षेत्रमा सतर्कता अपनाउन सुझाव

१७ असार २०७८ काठमाडौं । सक्रिय अवस्थामा रहेको मनसुनी वायुका कारण आज देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
अहिले प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध छ। बागमती प्रदेशअन्तर्गत काठमाडौ उपत्यकामा पनि मध्यरातिदेखि नै ठूलो वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले मनसुन सक्रिय हुने भएको हो ।
प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रानको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।
आज राति पनि देशका अधिकांश स्थानमा वर्षा हुने तर प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रमा भूक्षय र गेग्रानसहितको पहिरो जाने र तराई क्षेत्रमा डुबान हुनसक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
यसैबीच वर्षासँगै नारायणी र वाग्मती नदीमा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया