Main News

कोरोनाको दुई लहरमा युवा बढी प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १६ गते २०:३७
कोरोनाको दुई लहरमा युवा बढी प्रभावित (भिडियो रिपोर्टसहित)

१६ असार २०७८ काठमाडौं । नेपालमा कोरोना महामारी अहिले केही कम भएको छ । अहिलेसम्म आएका दुईवटा लहरमध्ये दोस्रोले धेरै क्षति गरेको छ । पहिलोमा भन्दा दोस्रोमा संक्रमित र मृत्यु हुनेको संख्या झण्डै दोब्बर देखिएको छ । दोस्रो लहरमा युवा उमेर समूहका नागरिक पनि बढी प्रभावित भएका छन् । दुईवटा लहरको तुलना गरिएको यो रिपोर्ट हेरौं –

कोरोना महामारीको पहिलो लहर करिब एक वर्ष चल्यो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार यो अवधिमा २२ लाख १० हजार ४ सय ३४ नमूना परीक्षण गरिएको थियो, जसमध्ये दुई लाख ७५ हजार १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भयो । पहिलो लहरमा ३ हजार १० जनाको मृत्यु भयो ।

जुन कुल संक्रमितको लगभग १ प्रतिशत मात्र थियो । पाँच दिनको शिशुदेखि १ सय ८ वर्षका जेष्ठ नागरिकको पनि मृत्यु भएको छ । पहिलो लहरमा मृत्यु हुनेमा ५० वर्ष माथिका व्यक्तिको संख्या धेरै थियो । कुल मृत्यु मध्ये ७७ प्रतिशत यही उमेर समूहका थिए ।

कोरोना महामारीको पहिलो लहर
कूल संक्रमित : २,७५ १,१८
मृतकको संख्या : ३ ०१०
मृत्युदर : १ प्रतिशत
५० वर्ष उमेरमाथिको मृत्यु : ७७ प्रतिशत
१८ वर्षभन्दा कम उमेरको मृत्यु : १.२६ प्रतिशत
१९ देखि ४० वर्षको मृत्यु : ११.७८ प्रतिशत
४१ देखि ५० वर्ष मृत्यु : २३ प्रतिशत

कोरोना महामारीको दोस्रो लहर
कूल संक्रमित : ३, ६१, १९८
मृतकको संख्या : ६,१०२
कूल मृत्युदर : २ प्रतिशतको हाराहारीमा
५१ वर्षमाथि उमेर समूहको मृत्यु : ६२.३९ प्रतिशत
४१ देखि ५० वर्ष उमेर समूहको मृत्यु : ३७.३९ प्रतिशत
यो उमेरमा पहिलो लहरभन्दा करिव १४ प्रतिशत धेरैको मृत्यु
१९ देखि ४० वर्षको मृत्यु : करिव १८ प्रतिशत

सबैभन्दा कम असर बालबालिकामा देखियो । १८ वर्षभन्दा कम उमेरका १ दशमलव २६ प्रतिशतको मात्रै मृत्यु भयो । १९ देखि ४० वर्षका ११ दशमलव ७८ प्रतिशत र ४१ देखि ५० वर्षका २३ प्रतिशतको ज्यान गएको सरकारी तथ्याङ्क छ ।
सबैभन्दा कम संक्रमित पुष्टि भएको दिन २०७७ फागुन २८ लाई पहिलो लहरको अन्तिम दिन मानेर डाटा विश्लेषण गरिएको छ । त्यो दिन ४८ जना संक्रमित भेटिएका थिए भने मृत्यु शून्य थियो । फागुन २९ गतेबाट भने संक्रमण र मृत्यु दर बढ्न सुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयले यहि दिनदेखि दोस्रो लहर सुरु भएको मानेको छ । पहिलो भन्दा दोस्रो लहर बढी घातक भयो । अहिले पनि यो क्रम थामिएको छैन ।

फागुन २९ देखि जेठ पहिलो सातासम्मको तथ्याङ्क हेर्दा जेष्ठ नागरिक नै बढी प्रभावित भए पनि युवा उमेर समुहमा मृत्यु बढेको देखिन्छ । कुल मृत्युमध्ये ५१ देखि १ सय ८ वर्षका ६२ दशमलव ३९ प्रतिशत छन् ।

यो पहिलो लहरको भन्दा झण्डै १५ प्रतिशत कम हो । ४१ देखि ५० वर्षका ३७ दशमलव ३९ प्रतिशतको मृत्यु भएको छ । अर्थात यो उमेरमा पहिलो लहर भन्दा करिव १४ प्रतिशत धेरैको ज्यान गएको छ ।

मृत्यु भएकामा १९ देखि ४० वर्षका करिव १८ प्रतिशत छन् । जुन पहिलो लहर भन्दा सात प्रतिशत बढी हो । अर्थात दोस्रो लहर १९ देखि ५० वर्ष उमेर समूहका लागि पहिलो भन्दा बढी घातक बनेको छ । बालबालिका भने पहिलो र दोस्रो लहरमा उत्तिकै प्रभावित भएको देखिन्छ ।

दोस्रो लहरमा भएको बढी क्षतिका कारण कुल मृत्युदर पनि बढेर २ प्रतिशतको हाराहारीमा पुगेको छ । पहिलो लहरमा जम्मा ३ हजार हाराहारी मृत्यु भएको थियो । तर दोस्रो लहरमा त्यसको दोब्बर अर्थात ६ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या पनि पहिलो लहरको भन्दा झण्डै दोब्बर नै थपिएको छ । दोस्रो लहरमा अहिलेसम्म करिब पौने चारलाख संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *