Main News

कोरोनाको तेस्रो लहर आउने संभावना कति छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १६ गते २०:३२
कोरोनाको तेस्रो लहर आउने संभावना कति छ ? (भिडियो रिपोर्टसहित)

१६ असार २०७८ काठमाडौं । कोरोना संक्रमणको पहिलो लहरभन्दा बढी क्षति भएको दोस्रो लहर अझै जारी छ । तर यो बीचमा संक्रमण नियन्त्रणमा सरकारले खासै काम गरेको छैन ।

संक्रमण नियन्त्रणमा सबैभन्दा प्रभावकारी मानिएको खोपको व्यवस्थापन गर्न पनि सरकार असफल भएको छ । विज्ञले तेस्रो लहरको चेतावनी दिइरहेका छन् । अहिलेदेखि नै तयारी नगरे तेस्रो लहर झन चुनौतिपूर्ण हुने अनुमान गरिएको छ । दुई लहरको तुलना र तेस्रो लहरको संभावनाबारे समीक्षा गरिएको यो रिपोर्ट हेरौं –

२०७६ माघ ९ गते चीनबाट फर्केका एक जना विद्यार्थीमा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भयो । तर केही समय कम देखिएको संक्रमण २०७७ को सुरुवातबाट भने उकालो लाग्यो ।

असार मध्यसम्म दैनिक ७ सय जनासम्म संक्रमित भेटिए । तर त्यसपछि केही दिन संक्रमण घटेर दैनिक सयको हाराहारीमा झर्‍यो । तर साउन मध्यदेखि संक्रमण फेरि बढ्यो । असोज कात्तिक र मंसिर मध्यसम्म यो उच्च भयो । एकै दिन साढे ५ हजार जनासम्म संक्रमित भेटिए ।

एकै दिनमा ४३ जनासम्मको मृत्यु भएको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो । जसलाई विज्ञले महामारीको पहिलो लहर भनेका छन् । मंसिरपछि घटेको संक्रमण माघ फागुन र चैत मध्यसम्म न्युन भयो । तर चैत अन्तिमबाट फेरि बढ्न थालेको संक्रमण यसपाली जेठ अन्तिममा उच्च विन्दुमा पुग्यो ।

एक दिनमै ९ हजार जना भन्दा धेरै संक्रमित भए । साढे २ सय जनासम्मको ज्यान गयो । यसलाई विज्ञले दोश्रो लहर भनेका छन् । पहिलो र दोस्रो लहरको तथ्यांक तुलना गर्दा सरकारले पूर्व तयारी नगरेको देखिन्छ । जसका कारण धेरैले ज्यान गुमाउनु परेको विज्ञ बताउँछन् ।

विश्वमा अहिले कोरोनाका चार प्रकारका खतरनाक भेरियन्ट सक्रिय छन् । जसमध्येका तीन वटा भेरियन्ट नेपालमा पनि भेटिएको छ । र बढी संक्रामक डेल्टा भेरियन्टका संक्रमित धेरै भेटिएका छन् ।

अहिले संक्रमण र मृतकको ग्राफ केही घटे पनि जोखिम कायमै छ । यस्तो बेलामा जनजिवन पूर्ववत अवस्थामा फर्कन थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै शहर बजारमा भीड बढ्न थालेको छ । पहिलो र दोस्रो लहरबाट पाठ नसिके अब आउने तेस्रो लहर झन चूनौतिपूर्ण हुनसक्ने सरकारी अधिकारी नै बताउँछन् ।

सरकारले दुवै लहरमा लकडाउन र निषेधाज्ञालाई नै कोरोना संक्रमण रोक्ने अस्त्रको रुपमा प्रयोग गर्यो । तर सरकारी व्यवस्थापनमाथि प्रश्न उठिरह्यो । नागरिकले दुवै लहरमा सास्ती खेप्नु पर्यो । दोस्रो लहरमा त अक्सिजनसमेत नपाएर नागरिकको ज्यान गयो ।

पहिलो भन्दा दोस्रो लहरमा संक्रमण र मृत्यु दुबै बढी देखियो । कारण थियो भाइरसको परिवर्तित स्वरुप । भाइरसमा अहिले पनि म्युटेशन हुने क्रम जारी छ । सरकार र नागरिक सचेत बन्न नसके तेस्रो लहरमा अझ बढी क्षति हुने खतरा छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *