राजनीति

एमाले ०७५ जेठ २ मा फर्कियो त ? यस्तो छ वास्तविकता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १६ गते १९:२६
एमाले ०७५ जेठ २ मा फर्कियो त ? यस्तो छ वास्तविकता (भिडियो रिपोर्टसहित)

१६ असार २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले नेपाल–खनाल समूहको माग बमोजिम पार्टीका सबै संरचना ०७५ साल जेठ २ को अवस्थामा फर्काउन अस्वीकार गरेको छ । अदालत र नेपाल–खनाल समूहले अवैधानिक भनेको महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको छ ।

तर त्यसमा २० जना सदस्य थपेर फागुन २८ कै अवस्था कायम राखिएको छ । अर्थात एमालेको केन्द्रीय कमिटी पहिले २ सय ३ सदस्यीय भएपनि संस्थापन पक्षले आज २ सय ६१ सदस्य नै कायम राखेको छ । संस्थापन पक्षले यसैलाई जेठ २ मा फर्किएको भनेर अर्थ लगाएको छ ।

०७७ साल फागुन २३ गते अदालतले पार्टी ब्यूँताइदिएपछि नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउन माग गर्दै आएको छ । बुधवारको महाधिवेशन आयोजक कमिटी बैठकले त्यसो गर्ने उसले अपेक्षा गरेको थियो ।

तर संस्थापन पक्षको बैठकले महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ । जहाँ ०७७ साल फागुन २८ गते थपिएका केन्द्रीय सदस्य कायम राखिएको छ । रामबहादुर थापा सहित पूर्व माओवादीका २० जना समेत यो केन्द्रीय कमिटीमा परेका छन् ।

त्यति मात्रै होइन भंग हुनुपूर्व आयोजक कमिटीले पूर्व माओवादीका चारसहित आठ जना नेतालाई स्थायी कमिटीमा लैजाने निर्णय पनि गरेको छ । सँगै झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेतामाथिको कारवाही खारेज गरिएको छ । एकताकै लागि यस्तो निर्णय गरेको संस्थापन पक्षको तर्क छ ।

नेपाल–खनाल पक्षले रामबहादुर थापासहितका पूर्व माओवादी नेतालाई पछि थप्ने र अहिले जेठ २ गतेकै अवस्थाको बैठक बोलाउनुपर्ने माग गरिरहेको थियो । त्यसलाई संस्थापन पक्षले अस्वीकार गरेको छ । तर उसले यसैलाई जेठ ३ गते भन्दा अघिको अवस्थामा फर्केको भनेर दाबी गरेको छ ।

एमालेको संस्थापन पक्ष रामबहादुर थापासहितका पूर्व माओवादी नेतालाई छोडेर कुनै संरचनाको बैठक बस्ने पक्षमा देखिन्न । प्रवक्ता प्रदीप ज्ञवालीको यो अभिव्यक्तिले पनि त्यही प्रष्ट पार्छ । र, संस्थापन पक्षले सोधेको छ, यही आधारमा एकतावद्ध हुने कि नहुने ?

२०७५ साल जेठ २ अघिको संरचनामा फर्कन तयार रहेको बताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः २०७७ फागुनभन्दा पछाडि फर्कन नसकेको देखिएको छ । यसले एमालेमा एकता कायम हुने भन्दा पनि विवाद झन बढ्ने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *