Main News

कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु, २८९२ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार १६ गते १७:०२
कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु, २८९२ संक्रमित थपिए

१६ असार २०७८ काठमाडौं । निषेधाज्ञा खुकुलो बनाइएपछि कोरोना संक्रमण हरेक दिन बढ्न थालेको छ । सरकारले पनि संक्रमणको जोखिम बढिरहेको भन्दै सचेत हुन आग्रह गरेको छ ।

पछिल्लो पटक २८ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ । यो हिजोको भन्दा साढे २ सय बढी हो । हिजो पनि अस्ती भन्दा धेरै संक्रमित भेटिएका थिए ।

लगातार संक्रमण बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण ज्ञवालीले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार संक्रमणदर पनि निरन्तर बढिरहेको छ । संक्रमणदर पनि २६ प्रतिशत भन्दा माथि पुगेको छ । अर्थात परीक्षण गरिएका हरेक चारजनामध्ये एकजनामा संक्रमण पाइएको छ ।

पछिल्लो पटक ७ हजार १ सय ८७ पिसिआर परीक्षण गर्दा १८ सय ८९ ४ हजार ३ सय ८१ एन्टीजेन परीक्षण गर्दा १ हजार ३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा पनि संक्रमण बढिरहेको छ ।

उपत्यकाका तीन जिल्लामा ५ सय ७२ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौँमा मात्रै ४ सय ३६ जना छन् । पछिल्लो पटक ३ हजार ५ सय ९७ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३३ हजार ५ सय ६१ मा झरेको छ ।

ति मध्ये ६ सय २७ जनाको आइसीयुमा र १ सय ७५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ ।

यसमा कर्णालीमा पहिले नै मृत्यु भएकाको विवरण समेत समेटिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *