प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयोः सभामुख सापकोटा
१५ असार २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको आरोप लगाउनुभएको छ ।
संघीय संसद भवनमा सम्पादकहरुसितका छलफलमा सभामुख सापकोटाले संविधानको आत्ममाथि प्रहार भएको बताउनुभयो । यस्तो बेला आफू चुप बस्न नसक्ने समेत सापकोटाको भनाइ छ ।
सभामुख सापकोटाले अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाउनुभयो । संसदको पटकपटक अवमूल्यन भएको र संसदलाई जीवन्त राख्न आफूले प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।
आफ्नो भूमिका संविधानको रक्षा र जनताको हितका सन्दर्भमा केन्द्रीत रहेको उहाँले दावी गर्नुभयो ।
यसअघि नै अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेपनि प्रधानमन्त्रीले पछि कुरा गरौंला भनेर टारेको सभामुखको गुनासो छ ।
राज्यका तीन अंगले के गरिरहेका छन् भन्ने जनतालाई जानकारी दिनुपर्ने र बहस हुनुपर्ने उहाँले तर्क गर्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै सापकोटाले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोडदिनुभयो ।
प्रतिक्रिया