यसरी बग्छ मेलम्चीको पानी अहिले घर र किसानको खेत हुँदै (भिडियो रिपोर्टसहित)

१४ असार २०७८ मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आएको दुई हप्ता पुग्न लागिसकेको छ । बाढी कम भए पनि मेलम्चीको पानी अहिले घर र किसानको खेत हुँदै बगेको छ । मेलम्ची बजार ठूलो बगर बनेको छ ।
दुई हप्ताअघिको बाढीबाट प्रभावित भएका स्थानीय बासिन्दा अहिले अस्थायी बासस्थानमा छन् । घाम लाग्दा र पानी नपर्दा खोलामा पानी घटे पनि पानी पर्ने बित्तिकै खोलाको बहाव बढ्न थाल्छ ।
बढेको पानीले कटान बढाउँदै लैजाँदा अहिलेसम्म जोगिएका घर जोखिममा परेका छन् । त्यसैले यसअघिको बाढीबाट घर र जमिन जोगिएकाहरु पनि चिन्तित छन् ।
कोही आफ्नो घर बगाउने हो कि भन्ने चिन्तामा छन् । अनि कोही बाढीले पुरेको घरको बालुवा पन्छाउँदैछन् । यो घर रामशरण थापामगरको हो । दुख गरेर बनाएको घरमा फेरि बस्न मिल्छ कि भन्ने आशा रामशरण घरभित्रै पसेको बालुवा मान्छे लगाएर बाहिर फाल्दै हुनुहुन्छ ।
बाढीले घर बगाएको छैन तर बालुवाले घर पुरेको छ । घरमात्रै होइन भएका सरसामान सबै पुरिएको छ । त्यसैले अर्जुनप्रसाद दुलाल घरमा बसेको बालुवाको पानीलाई बाहिर जाने बाटो बनाइदिँदै हुनुहुन्छ ।
मेलम्चीका बासिन्दा अहिलेपनि बाढीको त्रासमा छन् । राहत विभिन्न ठाउँबाट पुगेको छ । अबका दिनमा बाँकी रहेका वस्तीहरुलाई जोगाउन सकिन्छ कि भन्ने आशा छ उनीहरुलाई । त्यसैले उनीहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
मेलम्चीका मात्रै होइन, मेलम्चीभन्दा निक्कै माथिको हेलम्बु बजार र नदी आसपासका बजारको दृश्य पनि यस्तै छ ।
प्रतिक्रिया