Main News

दैनिक ६४ वटा उडान भर्ने गरी आन्तरिक हवाई उडान सञ्चालन हुने

हिमालय टिभी
२०७८ असार १४ गते १३:४८
दैनिक ६४ वटा उडान भर्ने गरी आन्तरिक हवाई उडान सञ्चालन हुने

१४ असार २०७८ काठमाडौं । दैनिक ६४ वटा उडान भर्ने गरी आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ ।

निषेधाज्ञासँगै बन्द भएको आन्तरिक तर्फको हवाई उडान पर्सिदेखि दैनिक ६४ गन्तब्यसहित पुनः शुरु हुने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा आन्तरिक उडान भर्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्राधिकरणका अनुसार पर्सि बिहान ६ बजेदेखि आन्तरिक हवाई उडान सुरु हुने छ । नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उडान भर्नेमध्ये सबैभन्दा बढी बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन दैनिक उडान भर्ने छन् ।

नेपाल एअर, तारा एअर, समिट एअर र सीता एअरले दैनिक दुई दुई उडान गर्न पाउने छन् । दैनिक ६४ वटा उडान हुने र ती विमानले कुल उडान क्षमताको ५० प्रतिशतमा नबढने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको छ ।

यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ ।

अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्ससहित अन्य चार कम्पनीले पनि अन्तर्राष्ट्रिय उडान भर्न पाउने छन् ।

फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्ने भएका हुन् । दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भइसकेको छ ।

उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड भने पूर्ण रुपमा पालना हुनुपर्ने सर्त प्राधिकरणको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *