संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाइमा आज विपक्षीको बहस हुँदै
१४ असार २०७८ काठमाडौं । संसद् विघटन विरुद्धको रिटमा संवैधानिक इजलासमा आजदेखि विपक्षीको बहस शुरु हुँदैछ ।
मुद्दामा १४६ सांसद रिट निवेदकका ३६ कानून व्यवसायीले १२ घण्टामा बहस सम्पन्न गरेका छन्।
आजदेखि विपक्षी अर्थात् सरकारी पक्षको बहस शुरु हुने भएको छ। यसपटक संसद् विघटनको मुद्दामा पक्ष, विपक्ष र एमिकस क्युरीका कानून व्यवसायीलाई बहसका लागि पहिल्यै समय निर्धारण गरिएको छ।
रिटमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। उनीहरुले पनि निवेदकले जति नै अर्थात् १५ घण्टा समय पाउनेछन्। निवेदकले १२ घण्टा बहस गरिसकेका छन् भने बाँकी ३ घण्टा विपक्षीको बहसपछि जवाफी बहस गर्नेछन्।
जवाफी बहसपछि २ घण्टा एमिकस क्युरीका लागि छुट्याइएको छ। विपक्षीमध्ये सभामुखका कानून व्यवसायीले छुट्टै समय पाउने भएका छन्।
विपक्षीबीच समय विभाजनमा सहमति नजुट्दा सभामुखबाहेक प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानून व्यवसायी र महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिललाई १४ घण्टा समय तोकिएको छ।
सभामुखका कानुन व्यवसायीका लागि १ घण्टा छुट्याइएको छ । विपक्षीको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका वकिलले बहस सुरु गर्नेछन्।
महान्यायाधिवक्ता कार्यालयका ११ जना वकिलले साढे ७ घण्टा बहस गर्नेछन्। बाँकी साढे ६ घण्टा राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानून व्यवसायीले बहस गर्ने तय भएको छ। आज विपक्षीको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गर्दै हुनुहुन्छ ।
बडालका लागि सबै विषय समेट्ने गरी तीन घण्टा समय छुट्याइएको छ। बडालपछि नायब महान्यायाधिवक्ता पदम पाण्डेयले बहस गर्ने तय भएको छ ।
प्रतिक्रिया