Main News

कालीगण्डकी डाइभर्सन परियोजना भारतीय स्वार्थमा ल्याएको एमाले नेता गुरुङको आरोप

हिमालय टिभी
२०७८ असार १३ गते १५:०९
कालीगण्डकी डाइभर्सन परियोजना भारतीय स्वार्थमा ल्याएको एमाले नेता गुरुङको आरोप

१३ असार २०७८ काठमाडौं । नेकपा एमालेका नेता एवम् गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले कालीगण्डकी डाइभर्सन परियोजना भारतीय शासकको स्वार्थ अनुरुप ल्याएको दाबी गर्नुभएको छ ।

संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी डाइभर्सन परियोजनाको कार्यालय उदघाटन गरेपछि गुरुङले यो परियोजना भारतीय स्वार्थअनुसार अघि सारिएको भन्दै विरोध गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता गुरुङको यो आशंकाले प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडान र सोचमाथि समेत गम्भीर प्रश्न उठेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा गुरुङले विस्तृत अध्ययन र अनुसन्धानबिना अघि सारिएको कालीगण्डकी डाइभर्सन परियोजना संघीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरीत रहेको टिप्पणी गर्नुभएको छ ।

पूर्वमन्त्री गुरुङले प्राकृतिक रुपमा बगिरहेको कालीगण्डकी नदी डाइभर्सन गर्दा त्यसले तल्लो तटीय जलाधार क्षेत्रका मानव समुदाय र जैविक विविधताका क्षेत्रमा ठूलो वातावरणीय चुनौती पैदा गर्ने जिकीर गर्नुभएको छ ।

जलाधार क्षेत्रका सबै बासिन्दा, जनप्रतिनिधि र सरोकारवाला तथा यससँग सम्बन्धित सबै संघ–संस्थाका साथै गण्डकी प्रदेशसँग छलफल, समन्वय र सहमति नै नगरी एकतर्फी रूपमा नेपाल सरकारले गरेको निर्णय सर्वथा गलत र संघीयता विरोधी रहेको गुरुङको टिप्पणी छ ।

उहाँले यो परियोजना कार्यान्वयन एउटा ठूलो प्राकृतिक विपद्को सामना गर्नु सरह हो भन्नुभएको छ । विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेला कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिंचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो ।

डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *