माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण आज, आगामी हप्ताबाट विद्युत उत्पादन शुरु गरिने
१३ असार २०७८ काठमाडौं । मुलुककै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजना आजदेखि राष्ट्रिय विद्युत प्रशारण लाइनमा जोडिने भएको छ ।
४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका प्रमुख कार्यकारी निर्देशक विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माण सम्पन्न भएको यो आयोजनाको परीक्षण उत्पादन सफल भएपछि प्रशारण लाइनमा जोड्न लागिएको हो। माथिल्लो तामाकोशीबाट उत्पादन हुने राष्ट्रिय प्रणालीमा जोड्न खिम्ति सवस्टेशनमा तार तान्ने काम भएको छ।
आजदेखि एक हप्ताका लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुनेछ। माथिल्लो तामाकोसीको बिजुली केन्द्रिय प्रशारण लाइनमा जोड्ने र त्यही क्रममा खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले सूचना निकालेर जानकारी दिएको छ।
माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले आयोजनाबाट उत्पादित हुने बिजुलीलाई तार तानेर खिम्ती सवस्टेशनसम्म पुर्याउन बीचमा रहेको खिम्ती लामो साँघु १३२ केभी प्रसारण लाइन एक साताका लागि बन्द गर्न लागिएको जानकारी दिनुभयो ।
तार खिम्ती सवस्टेशनको प्रणालीमा आबद्ध गरिएपछि माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादन हुने पहिलो युनिटको बिजुली प्रसारणलाइनबाट प्रवाह गर्ने काम सुरु हुनेछ। आयोजनाको सुरुङ, जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ।
वैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन शुरु हुने अनुमान गरिए पनि केही प्राविधिक समस्याले गर्दा केही ढिलो व्यवसायिक उत्पादन गर्न लागिएको हो। अब कुनै पनि समस्या नरहेको आयोजनाले जनाएको छ।
स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी सबैभन्दा ठूलो आयोजना हो।
प्रतिक्रिया