कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय स्थापना

१२ असार २०७८ बुटवल । बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय स्थापना भएको छ ।
कार्यलय उद्घाटन गर्दै मन्त्री विष्णु पौडेलले अब आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) को काम शुरु हुने बताउनुभयो ।
गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी डाइभर्सन गरेर तिनाउ नदीमा मिसाउने यो परियोजनाको उदेश्य छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा बाँध बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभानमा ल्याउने र त्यहाँबाट पनि बुटवलको बेलबाससम्म थप ७ किलोमिटर सुरुङ खनेर तिनाउमा पानी झार्ने योजना छ ।
यो आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब लागत अनुमान गरिएको छ । डाइभर्सन आयोजनाले लुम्बनी प्रदेशका पाल्पा, गण्डकीको स्याङ्जा र तनहुँसम्मका १० वटा स्थानीय तह प्रत्यक्ष प्रभावित हुने भन्दै विरोध हुँदै आएको छ ।
दोभानमा बन्ने विद्युत आयोजनाबाट एक सय मेगावाट र बेलवासको विद्युत आयोजनाबाट २६ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि बनाइएको छ ।
दोभान र बेलबासमा झर्ने पानीबाट रुपन्देही र कपिलवस्तुमा एक लाख हेक्टर जमिनमा सिञ्चाइ सुविधा पुर्याउने लक्ष्य छ । तर गण्डकी प्रदेश सरकार भने यो आयोजनाको विपक्षमा उभिएको छ ।
प्रतिक्रिया