Main News

सर्लाहीमा एक्स्काभेटरको बकेटले हानेर वडाध्यक्षको निर्मम हत्या

हिमालय टिभी
२०७८ असार १२ गते १३:१५
सर्लाहीमा एक्स्काभेटरको बकेटले हानेर वडाध्यक्षको निर्मम हत्या

१२ असार २०७८ सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको ३ नम्वर वडाका वडाध्यक्षको हत्या भएको छ।

ईश्वरपुर-३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हिजो राति हत्या भएको प्रहरीले जनाएको छ। वडा कार्यालयको लगानीमा खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा एक्स्काभेटर चालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

निरीक्षणका लागि गएका वडा अध्यक्ष श्रेष्ठको एक्स्काभेटरको बकेटले टाउको र छातीमा हानेर हत्या भएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले जानकारी दिनुभयो ।

मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो । हिजो साँझ एक्स्काभेटरका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा जानुभएको थियो ।

सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा एक्स्काभेटरका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच विवाद भएको थियो। खाजा खाएपछि पोखरी बिस्तार भइरहेको ठाउँमा पुग्ने बितिक्कै जेसीभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेको मेयर देवकोटाले जानकारी दिनुभयो ।

हत्या गरेपछि वडाध्यक्षको शव त्यहीँ पुरेर चालकसहित भागेका थिए । प्रहरीले एक्स्काभेटर चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र जेसीभी धनी प्रेम दाहाललाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिनुभयो ।

पुरिएको ठाउँबाट श्रेष्ठलाई निकालेर प्रहरीले राति नै जिल्ला अस्पताल मलङ्गवा लगेको छ । पोष्टमार्टमपछि आजै वडाध्यक्ष श्रेष्ठको अन्त्येष्टि गरिने मेयर देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *