आज देशका अधिकांश स्थानमा वर्षा, कुनकुन नदीमा बाढीको सम्भावना ?

१२ असार २०७८ काठमाडौं । आज देशका धेरैजसो ठाउँमा पानी पर्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
अहिले प्रदेश(१, २ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना हो ।
जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कनकाई, कोशी, कमला, बागमती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा भने पानीको बहाव सामान्य बढ्ने छ। महाशाखाले आज प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै‚ प्रदेश २ का बारा‚ धनुषा‚ सिरहा र सप्तरीका नदी तथा खोला आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।
बागमती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ रामेछाप‚ नुवाकोट‚ दोलखा‚ धादिङ‚ चितवन‚ मकवानपुर‚ काठमाडौं र सिन्धुलीका नदी तथा खोलाको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशका गोरखा‚ लमजुङ‚ म्याग्दी‚ बाग्लुङ‚ परासी र लुम्बिनी प्रदेशका नवलपुर‚ गुल्मी‚ पाल्पा‚ दाङका नदी तथा खोलाको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रेदशका जाजरकोट‚ दैलेख‚ कालीकोट‚ सल्यान‚ सुर्खेत‚ डोल्पाका नदी तथा खोलामा बहाव बढ्ने छ।
प्रतिक्रिया