Main News

कोरोनाविरुद्धको खोप नलगाएका कामदार अब खाडी मुलुक जान नपाउने

हिमालय टिभी
२०७८ असार १२ गते ७:४४
कोरोनाविरुद्धको खोप नलगाएका कामदार अब खाडी मुलुक जान नपाउने

१२ असार २०७८ काठमाडौं । कोरोनाविरुद्धको खोप नलगाएका कामदार अब श्रम गर्नका लागि खाडी मुलुक जान नपाउने भएका छन् ।

यसले सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगार धरासायी हुने जोखिम बढेको छ ।

खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेका छन् । संयुक्त अरब इमिरेट्स यूएईमा गत वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध गरिएको छ ।

हप्तामा यूएई–नेपाल चारवटा चार्टर उडान भइरहेको छ । जसमा नेपाल र यूएईका दुईदुई हवाई कम्पनीहरूले अनुमति पाएका छन् । यी विमानहरूले यूएईबाट नेपालमा यात्रु ल्याउन मात्रै पाउँछन्, लैजान पाउँदैनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार यूएईले उडानमा रोक लगाउँदा ५ हजार जना नयाँ र बिदामा घर आएका कामदार रोकिएका छन् ।

असार ९ गते जारी खोपसम्बन्धी अर्को सूचनाले नेपालीको खाडीमा रोजगारी थप अन्योलमा परेको छ । कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ ।

यी खोप लगाएकाले मात्रै यूएई प्रवेश पाइन्छ । यी खोप नेपालमा अभाव छ । कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । नयाँ भिसा पनि जारी गरेको छैन । आउँदो साउन १७ देखि भने खोप लगाइसकेको कामदार भने आउन पाउने सूचना जारी गरेको छ ।

कुवेतले कोरोनाबाट उच्च र कम जोखिममा रहेका देशको सूचीलाई हटाउँदै आफ्नो देशले अनुमोदन गरेको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने नीति लिएको छ।

कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलाई अनुमोदन दिएको छ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने जनाएको छ ।

नेपाली कामदारको माग भइरहेको साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्छ । बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *