कांग्रेस महाधिवेशन : तीन नेता पुत्रको गठबन्धन बन्ला ? (भिडियो रिपोर्टसहित)
११ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनका लागि नेताहरुबीच भेटघाट र छलफल तिब्र भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भइरहेको गठजोडको प्रयासले नेतृत्वको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यसले महाधिवेशनमा नसोंचेको समीकरण बन्न सक्ने संभावना पनि देखिएको छ ।
१४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा ध्रुवीकरण तीब्र बनेको छ । तीन नेता पुत्र उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सहकार्यको प्रयास भइरहेको छ ।
शुक्रबार पनि कोइराला निवासमा तीन नेताको बैठक बस्यो । साझा धारणा बनाएर अघि बढ्ने समझदारी बनेको तीन नेताको दाबी छ । यी भेटबाट उत्साहित महामन्त्री कोइराला एउटै टिम बन्ने संभावना बढैको बताउनुहुन्छ ।
तीनमध्ये उपसभापति निधि यसअघि सभापति शेरबहादुर देउवा निकट हुनुहुन्थ्यो । तर पछिल्लो पटक उहाँले आफुलाई सभापतिको उम्मेद्वारका रुपमा अघि सार्नुभएको छ । कार्यकर्ताको चाहनाअनुसार नै आफुहरु एक ठाउँमा उभिएको निधिको दाबी छ ।
तीन नेताबीच नेतृत्वका विषयमा भने अहिलेसम्म ठोस सहमति बनिसकेको छैन । यद्यपि छलफललाई निरन्तरता दिँदै त्यसबारे पनि सहमति खोज्ने प्रयास भइरहेको पूर्व महामन्त्री सिंह बताउनुहुन्छ ।
तीन नेताको छुट्टै छलफलबाट सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्ष सशंकित छ । तर दुबै पक्ष अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । सभापतिको दावेदार मानिएका अर्का प्रभावशाली नेता डाक्टर शेखर कोइराला भने तीन नेताको छलफललाई सकारात्मक भन्नुहुन्छ ।
महामन्त्री कोइराला र पुर्व महामन्त्री सिंह सभापति देउवाको आलोचकका रुपमा चिनिनुहुन्छ । उहाँहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको समुहमा रहेको मानिदै आएको छ । तर तीन नेताको पछिल्लो साँठगाँठ हेर्दा कांग्रेसमा यसअघि देखिएको समूहगत समीकरण परिवर्तन हुन लागेको संकेत गरेको छ ।
प्रतिक्रिया