Main News

प्रधानमन्त्रीसँग मिलेर राष्ट्रपतिले संविधानविपरीत काम गरेको आरोप

हिमालय टिभी
२०७८ असार ११ गते १९:०९
प्रधानमन्त्रीसँग मिलेर राष्ट्रपतिले संविधानविपरीत काम गरेको आरोप

११ असार २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संविधान विपरीत काम गरेको भन्दै कानून व्यवसायीले आज पनि आलोचना गरेका छन ।

संसद विघटनविरुद्धका रिटमा भइरहेको बहसका क्रममा निवेदक पक्षका कानून व्यवसायीले हरेक दिनजसो राष्टपतिको भूमिकालाई लिएर प्रश्न उठाइरहेका छन् । उनीहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेर र संसद विघटन गरेर गैर संवैधानिक काम गरिएको तर्क गरेका छन् ।

आजको वहसमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले प्रधानमन्त्रीका लागि आधारसहित दाबी परेपछि त्यसको विश्वसनीयता परीक्षण गर्ने अधिकार राष्ट्रपतिमा नभएको बताउनुभयो ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्न राष्ट्रपतिले बद्‍‍नियतपूर्ण निर्णय गरेको पनि अर्यालले आरोप लगाउनुभयो । राष्ट्रपतिले संसद्‍मा जानका लागि बाटो फुकाइदिनुपर्नेमा प्रधानमन्त्रीका लागि परेका दाबी अस्वीकार गर्दै हतारमा प्रतिनिधिसभा विघटन गरिनु बदनियतपुर्ण रहेको उहाँले जिकिर गर्नुभयो ।

अधिवक्ता सुनिल पोखरेलले संविधानले राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको जिकिर गर्नुभयो ।

राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको दाबी जाँच्ने ठाउँ संसद भएको पनि उहाँले बताउनुभयो । अधिवक्ता टीकाराम भट्टराईले संविधानको रक्षा गर्नुपर्ने राष्ट्रपतिले नै संविधानको मर्मविपरीत काम गरेको टिप्पणी गर्नुभयो ।

आफ्नो दायित्व पूरा नगर्ने राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लाग्ने व्यवस्था भएको पनि उहाँले स्मरण गराउनुभयो । अदालतले यसपल्ट राष्ट्रपतिको अधिकारका विषयमा पनि बोल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसदको हस्ताक्षरमा राष्ट्रपतिले को कुन दलको सदस्य भनेर कसरी चिन्यो भन्दै भट्टराईले आव्हानचाहिँ प्रतिनिधिसभाको सदस्यलाई गर्ने अनि मान्छे दलको हो भन्न नमिल्ने बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता दिनमणि पोखरेललाई प्रधानमन्त्रीले म विश्वास लिदिनँ भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय भनेर प्रश्न गर्नुभयो । जवाफमा पोखरेलले प्रधानमन्त्रीले आफूलाई अप्ठ्यारो परेको भन्ने लागे राजीनामा दिनुपर्ने तर सत्ता टिकाउन अनेक तिकडम गर्न नहुने जवाफ दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *