प्रहरी प्रशासनले उपत्यका छिर्न नदिँदा यात्रुको बाटोमा यस्तो बिचल्ली (भिडियो रिपोर्टसहित)

११ असार २०७८ धादिङ । निषेधाज्ञा खुकुलो भएपछि अहिले देशभरबाट काठमाडौं आउनेको चाप बढेको छ । तर प्रहरी प्रशासनले सजिलै उपत्यका छिर्न दिएको छैन ।
बिनापास हिडेको भन्दै यात्रुवाहक गाडीलाई धादिङ र चितवनका विभिन्न स्थानका साथै नागढुंगामा समेत रोक्ने गरिएको छ । ति गाडीमा आएका यात्रुको भने बिचल्ली भइरहेको छ ।
काठमाडौंमा निषेधाज्ञा खुकुलो भएको सुनेर काम पाइन्छ कि भन्ने आशामा सुर्खेतबाट धादिङ्ग आइपुगेका टोपबहादुर बारघरे काठमाडौं छिर्न पाउनु भएको छैन । यसरी बाटोमा अलपत्र पर्ने उहाँ एक्लो हुनुहुन्न । सुर्खेतकै पदम खत्री पनि उहाँसँगै काठमाडौं छिर्ने नाकामा विचल्लिमा हुनुहुन्छ ।
उहाँहरुले काठमाडौंमा निषेधाज्ञा खुकुलो भयो । जोरबिजोर प्रणाली लागू भयो भन्ने सुन्नुभयो । त्यसपछि अब काम पाइएला र केही कमाइला भन्ने ठानेर घरबाट हिँड्नुभएको हो । काठमाडौंको नागढुंगा नाकासम्म आइपुग्न पनि उहाँहरुले निक्कै सास्ती खेप्नु परेको छ ।
तर पनि नागढुंगाबाट काठमाडौं छिर्न पाउनु भएको छैन ।
यसरी रोकिने अर्का हुनुहुन्छ । स्याङ्जाका मजोज कुँवर । बैदेशिक रोजगारीका लागि पाँच महिना अघि भिषा आइसकेका कुँवरले काठमाडौं छिर्न नपाएका कारण विदेश जाने प्रक्रिया अघि बढाउन पाउनुभएको छैन ।
विदेश जाने होस् वा काठमाडौंमा नै पेशा व्यवसाय गर्ने । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ छिर्ने नागरिक बढेका छन् । तर प्रशासनले उनीहरुलाई सजिलै काठमाडौं छिर्न दिएको छैन । ठाउँ ठाउँमा रोकेको छ ।
यातायात व्यवसायीले गाउँबाट सजिलै ल्याए पनि काठमाडौं छिर्न निक्कै कठिन छ । पास बिनाका यात्रुबाहक बसलाई माथिको आदेश भन्दै विभिन्न स्थानमा रोकिएको छ । प्रशासनले गतिलो गरी सूचना नदिँदा अहिले सयौं यात्रु बिच बाटोमै अलपत्र पर्ने अवस्था आएको छ ।
प्रतिक्रिया