Main News

कोरोनाविरुद्धको खोपको प्रतीक्षामा बसेका नागरिकमा यस्तो निराशा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ११ गते १८:२७
कोरोनाविरुद्धको खोपको प्रतीक्षामा बसेका नागरिकमा यस्तो निराशा (भिडियो रिपोर्टसहित)

११ असार २०७८ काठमाडौं । सरकारले ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । आम नागरिक पनि खोप लगाउने पालो कुरेर बसेका छन् । तर खोप नआउँदा नागरिकमा निराशा छाएको छ । खोप कहिले आउँछ भन्ने पनि अहिलेसम्म अन्योल छ ।

कोरोना महामारीको यो कहरमा सबैलाई खोप लगाउन पाए हुन्थ्यो भन्ने चाहना छ । नागरिक सरकारले खोप ल्याउछ र लगाउन पाइएला भनेर पर्खेर बसेका छन् ।

नागरिक तत्कालै खोप चाहन्छन् । खोप ल्याउने भन्दा पनि सरकार आन्तरिक राजनीतिमा अल्झिएको जस्तो उनीहरुलाई लागेको छ ।

खोप नलगाएका मात्रै होइन, पहिलो डोज खोप लगाएका १४ लाख व्यक्ति पनि दोस्रो डोज खोपको प्रतिक्षामा छन् । सरकारले अहिलेसम्म भेरोसेल र कोभिसिल्ड गरी २५ लाख ५६ हजार १ सय २९ जनालाई पहिलो डोज खोप उपलब्ध गराएको छ ।

त्यस्तै ७ लाख ४५ हजार ६ सय ७० जनाले दोस्रो डोज खोप पाएको सरकारी तथ्याकं छ । ७२ प्रतिशत नागरिकलाई खोप दिने लक्ष्य राखेको सरकारले खोप उपलब्ध नभएसँगै सबै नागरिकलाई तत्कालै खोप उपलब्ध गराउन सक्ने अवस्था छैन । सरकारसँग अब पछिल्लो पटक भेरोसेल खोप लगाएका ३ लाख ७० हजार नागरिकलाई पुग्ने खोप मात्रै छ ।

सरकारसँग मौज्दात नभएपनि सरकारले खोप ल्याउन पहल भने गरिरहेकै छ । अमेरिका, भारत, चीन बेलायतबाट खोप ल्याउने प्रयास जारी रहेपनि खोप कति मात्रामा आउँछ र कहिले आउँछ भन्ने कुरामा सरकार पनि अन्योलतामै देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०२१ भित्रै सबै नागरिकले खोप पाउने भन्दै भाषण गरिरहनुभएको छ । यसअघि सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै लाखौं खोप ल्याउने भन्दै हल्ला गरे तर खोप आयातमा कुनै पनि प्रगती भएको छैन ।

स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी सबैभन्दा बढी हुन्छ । तर, नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय हाँक्ने मन्त्री नै पटक पटक फेरिरहँदा कार्यसम्पादनमा झनै समस्या थपिएको छ । तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिएका छन् ।

बिहीबारदेखि भने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ । यो जिम्मेवारीसँगै उहाँको काँधमा नागरिकको अपेक्षा पूरा गर्ने दायित्व पनि थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *