Main News

संसद विघटनविरुद्धको रिटमथि आज पनि सुनुवाइ जारी रहने

हिमालय टिभी
२०७८ असार ११ गते ८:०१
संसद विघटनविरुद्धको रिटमथि आज पनि सुनुवाइ जारी रहने

११ असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाई आज पनि हुने भएको छ ।

रिट निवेदकको तर्फबाट आज २९ जना कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

रिट निवेदक पक्षलाई शुरुवाती बहसका लागि १२ घण्टाको समय तोकिएको छ । हरेक दिन ४ घण्टा मात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ जना कानून व्यवसायीहरुलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ ।

रिटको पक्षमा बहस गर्न वकालतनामा बुझाएका कानून व्यवसायीको छलफलबाटै २९ जना कानून व्यवसायीलाई बहसको समय तोकिएको हो । रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने आज अन्तिम दिन हो ।

आज वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०–३० मिनेट बहस गर्नुहुनेछ । त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले २५ मिनेट बहस गर्नुहुनेछ ।

वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा भीमार्जुन आचार्यलाई बहसका लागि २०–२० मिनेटको समय निर्धारण गरिएको छ । अधिवक्ता टीकाराम भट्टराईलाई १५ मिनेट समय छुट्याइएको छ ।

अन्य कानून व्यवसायीहरुलाई न्यूतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । इजलासले बहस व्यवस्थापनका लागि जारी गरेको आदेश अनुसार रिट निवेदक पक्षको शुरुवती बहस आज सकिनेछ ।

आइतबारदेखि रिट निवेदनको विपक्षी अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *