Main News

देशभरका स्थानीय तह धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

हिमालय टिभी
२०७८ असार १० गते ८:०७
देशभरका स्थानीय तह धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

१० असार २०७८ काठमाडौं । अधिकांश स्थानीय तहले आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन् ।

कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय तहले बल्ल नीति र कार्यक्रम पेस गरी बजेट सभामा पेस गर्ने तयारी गरेका छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ ।

सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सङ्घीय र प्रदेश सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् ।

स्थानीय तहले पनि संघ र प्रदेशले जस्तै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्न लागेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएका छन् ।

यस वर्ष स्थानीय तहले यस अघिका अधुरा योजना कार्यान्वयन, स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष भएकाले निर्वाचनका क्रममा जनतासामु गरिएका वाचा पूरा गर्ने, आवधिक योजनालाई कार्यान्वयन गर्ने गरी बजेट ल्याउन लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *