Main News

संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी रहने

हिमालय टिभी
२०७८ असार १० गते ८:०२
संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी रहने

१० असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको मुद्दामा संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।

अब यो मुद्दामा निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा हिजोदेखि देउवा पक्षका वकिलले बहस थालेका छन् ।

पहिलो दिन बहस गर्ने कानून व्यवसायीले संसद विघटन गैर संवैधानिक भएको बताएका छन । शेरबहादुर देउवाको दावी पुग्दा पनि प्रधानमन्त्री नियुक्ति नगरेको भन्दै उनीहरुले राष्टपतिको नियतमाथि प्रश्न पनि उठाएका छन् ।

इजलासमा बहसका लागि देउवा पक्षका कानून व्यवसायीका लागि १२ घण्टा समय तोकिएको छ । दिनमा चारघण्टा वहस हुने आधारमा तीन दिनभित्र रिट निवेदकले आफ्नो दाबी पेश गर्नुपर्नेछ ।

देउवाको पक्षबाट बहस गर्न २ सय ३६ जनाले वकालतनामा लेखाएका छन् । त्यस्तै विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्न १ सय १६ जना कानून व्यवसायीले वकालतनामा भरेका छन् ।

यसअघि सरकार पक्षलाई समय कम दिइएको गुनासो आएपछि यसपटक १५ घण्टा दिइएको छ । इजलासलाई सहयोग गर्न एमिकस क्यूरी पनि बनेको छ ।

नेपाल बारबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा पठाइएको छ । तोकेकै समयमा बहस सकिए यही २० गतेसम्म फैसला आउने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *