असार १७ गतेबाट आन्तरिक उडान शुरु हुने, अन्तर्राष्ट्रिय रुटमा भोलिबाटै (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । झण्डै दुई महिनापछि असार १७ गतेबाट आन्तरिक उडान शुरु हुने भएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीसँग छलफल गरी असार १७ गतेबाट आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो।
असार ७ गतेको मन्त्रिपरिषद् बैठकले सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरी आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा उडान गन्तव्य तय हुने जानकारी दिनुभयो । त्यसका लागि मन्त्रालयसँग विवरण मागिएको पोखरेलले बताउनुभयो ।
आन्तरिक उडान वैशाख २० गतेबाट बन्द गरेको थियो। उडानको व्यवस्थापन गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ।
अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा भोलिबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ ।
प्रतिक्रिया