शर्मा, ढकाल र महतविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा दर्ता (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । कर फर्स्यौट आयोगको ‘अनियमितता’ प्रकरणमा ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीहरुले नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकार क्षेत्र बाहिर गइ बदनियतपूर्वक करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व छली गरेको देखिएको अख्तियारको दावी छ ।
करदाताको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीले आपसी कुराकानीलाई मात्र आधार लिइ कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्यागई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
आयोगले लुम्बध्वज महत, उमेश प्रसाद ढकाल र चुडामणी शर्मा ढकालबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेअनुसार एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ बिगो असुलीको मागदाबी गरेको छ। यस्तै, उनीहरुलाई ८ देखि १० वर्षसम्म कैद सजायको समेत माग गरिएको छ ।
प्रतिक्रिया