राहत दिनेको प्रचारबाजीले पीडितमाथि यस्तो थप पीडा (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । बाढी प्रभावित क्षेत्रमा राहत वितरण हुँदा विपदमा परेकालाई केही सहज भएको छ । तर राहत दिनेले सहयोगको प्रचार गर्न खिच्ने भिडियो र फोटोका कारण भने पीडितलाई समस्या भएको छ ।
अहिले बाढी प्रभावित क्षेत्रहरुमा राहत लैजानेको लर्को छ । प्रभावित क्षेत्रमा दुखमा परेका व्यक्तिहरुलाई राहत दिएर सहयोग गर्नु राम्रै हो । तर राहत दिने कतिपयहरु पीडितलाई सहयोग गर्न भन्दा पनि प्रचारमा केन्द्रित हुन खोजेको देखिन्छ ।
राहत वितरणको समयमा फोटो खिच्ने, भिडियो बनाउने काममा राहत वितरकहरु नै सक्रिय देखिन्छन् । जे दिँदा पनि र फोटो खिच्दा भिडियो बनाउँदा मेलम्चीको विमला बोम्जनलाई नराम्रो लाग्छ ।
एक बोरा चामल दिनेले पनि प्रभावितलाई दिँदै गर्दा फोटो खिचाउँछन् । राहत दिएपछि सँगै बसेर फोटो खिच्छन् । फोटो खिचेर आफैँले राखे त ठिकै थियो । त्यो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्छन् । यो सबै देखेर सिन्धुपाल्चोकको मेलम्चीकै खुर्कु तामाङलाई राहत वितरणको नाममा फोटो खिच्ने काम मात्रै भएको जस्तो लाग्छ ।
बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुले आफूसँग भएको घर खेत गुमाएका छन् । उनीहरु हरेक कोणबाट दुखमा छन् । राहत वितरण व्यवस्थित हुन नसक्दा र प्रचार बाजी मात्रै भएको र उनीहरुको आत्मसम्मान नै गिर्न पुगेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अनुभव छ ।
पोहोर निषेधाज्ञा हुँदा धुलिखेलका युवाहरुले पैदल नै घर हिँडेकाहरुलाई सहयोग गरेका थिए । तर उनीहरुले सहयोगको फोटो खिच्न प्रतिबन्ध नै लगाएका थिए ।
यसरी सहयोग गर्नेहरु आफ्नो परिचय खुलाउन समेत मान्दैन थिए । उनीहरुको सहयोगको प्रशंसा भएको थियो । त्यसैले अहिले बाढी पीडितलाई राहत दिनेहरुले धुलिखेलका यी युवाबाट सिक्ने हो कि ।
प्रतिक्रिया