Main News

निषेधाज्ञा खुकुलो भएपछि यस्तो देखियो चहलपहल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ८ गते २०:२८
निषेधाज्ञा खुकुलो भएपछि यस्तो देखियो चहलपहल (भिडियो रिपोर्टसहित)

८ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मुख्यमुख्य शहरमा निषेधाज्ञा केही खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै सडकमा सवारी साधनको चाप बढेको छ । पसल खुलेपछि चहलपहल पनि निकै देखिएको छ ।

यो नेपालगञ्ज शहरको दृश्य । कोरोना महामारीको हटस्पट बनेको नेपालगञ्जमा अहिले संक्रमण घटेको छ र प्रशासनले निषेधाज्ञा खुकुलो पारेको छ । त्यसपछि नेपालगञ्ज शहरमा चहलपहल बढेको छ ।

नेपालगञ्जको जस्तै स्थिति छ । बुटवलमा पनि । यहाँ पनि निषेधाज्ञा खुकुलो भएसँगै गाडी चल्न थालेका छन् । व्यापार व्यवसाय खुल्न थालेको छ।

अनि देशको संघीय राजधानी काठमाडौंमा पनि निषेधाज्ञा केही खुकुलो भएसँगै पसल खोलेका व्यवसायी ग्राहकको प्रतिक्षामा छन् । पसल खोले पनि व्यापार छैन । सरकारले कर असुल्नकै लागि निषेधाज्ञा खुकुलो गरेको हो कि भन्ने आशंका व्यापारीलाई छ । घरबेटीले भाडा छुट नदिने र सरकारले कर छुट नदिएपछि दोहोरो मारमा परेको व्यवसायीको गुनासो छ ।

उनीहरु सटर भाडा र कर तिर्न पैसा कसरी उठाउने भन्ने चिन्तामा छन् । त्यसैले सरकारले भाडा र करमा केही सहुलियत मिलाइदिए हुन्थ्यो भन्ने उनीहरुको अपेक्षा छ ।

व्यापार व्यवसाय खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा जोर बिजोरको आधारमा ट्याक्सी पनि सञ्चालन भएका छन् । दैनिक गुजारा गरेर बैंकको किस्ता पनि तिर्नुपर्ने ट्याक्सी चालकको बाध्यता छ । निषेधाज्ञा अवधिभर ट्याक्सी थन्क्याएर बसेका उनीहरुको आम्दानी ठप्प भएपछि निकै समस्यामा परेका छन् । उनीहरुले पनि कर छुटको आशा गरेका छन् ।

घरभाडा, ट्याक्सीको किस्ता र बच्चाको विद्यालय शुल्कका साथै हात मुख जोड्ने एउटै आधार ट्याक्सी नै भएको कारणले गर्दा मानसिक रूपमा समेत दबाब भएको ट्याक्सी चालकको भनाइ छ ।

आगामी दिनमा पनि आवश्यक मापदण्ड पुरा गरेर सरकारले ट्याक्सी सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ । रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

व्यापारी व्यवसायीले कोरोना नियन्त्रणको लागि निषेधाज्ञा जारी गर्नु राम्रो कदम भए पनि आफूहरुको समस्या समाधानमा सरकारले चासो नदिएको उनीहरुको आरोप छ ।

झण्डै दुई महिना लामो निषेधाज्ञामा पनि खोप ल्याउन पहल नगरेकोमा उनीहरुको सरकारसँग पनि आक्रोश छ । कोरोना संक्रमण बढ्ने र त्यसलाई रोक्न निषेधाज्ञा लकडाउनु गर्ने भन्दा पनि सरकारले सबैलाई खोप उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

हाल कोरोको संक्रमणको जोखिम कम भएसँगै निषेधाज्ञा त खुकुलो बनाइएको छ । तर फेरि कोरोनाको तेस्रो भेरियन्टको जोखिम रहेको विज्ञहरुले चेतावनी दिँदै आएका छन् । अतः सरकारले निषेधाज्ञा मात्र जारी गरेर कोरोना नियन्त्रण गर्न खोज्नुभन्दा अन्य विकल्पमा पनि बेलैमा ध्यान दिन आवश्यक छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *