Main News

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटमा आज सुनुवाइ हुने

हिमालय टिभी
२०७८ असार ८ गते ९:०३
मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटमा आज सुनुवाइ हुने

८ असार २०७८ काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध परेका ६ रिटमाथिको सुनुवाइ आज हुँदैछ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेशबारे निर्णय गर्न विपक्षीहरुको समेत उपस्थितिमा आजका लागि सुनुवाई तय गर्नुभएको हो ।

सोही अनुसार सर्वोच्चमा मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको हो। मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले यसअघि जेठ २५ गते महान्यायाधिवक्तामार्फत लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।

विश्वासको मत लिन नसकेपछि ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने जिकिरसहित रिट दायर भएको हो।

आजै कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछिको भ्याकेट निवेदनमा पनि सुनुवाइ हुँदैछ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाही बदर गरी पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो। त्यसविरुद्ध एमालेले अन्तरिम आदेश खारेजीको मागसहितको निवेदनमा सर्वोच्चमा दर्ता गराएको हो ।

अन्तरिम आदेशमा केन्द्रीय कमिटिले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटिलाई नहुने ठहर गरिएको थियो।

नेता माधव नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेकै कारण कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *