आगामी कात्तिक र मंसिरका लागि तोकिएको चुनावका लागि ९ अर्ब खर्च लाग्ने आयोगको आँकलन
८ असार २०७८ काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित ९ अर्ब खर्चको आँकडा तयार गरेको छ ।
आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि ८ अर्ब ९८ करोड खर्च हुने अनुमान गरेको हो । आयोगले मतदानका लागि बनाइने बुथदेखि मतगणनासम्मका लागि यो रकम खर्च हुने अनुमान गरेको छ ।
यो अनुमानित रकममा सुरक्षातर्फको खर्च भने समावेश नहुने आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचन प्रक्रियामा लाग्ने कागजदेखि लजिस्टिक सामग्री खरिद र निर्वाचन प्रक्रियाको व्यवस्थापनमा रकम खर्च हुनेछ ।
आयोगले सरकारसँग निर्वाचनका लागि बजेट माग गरेपछि आवश्यक सामग्री खरिदका लागि टेन्डर गर्ने तयारीसमेत गरिरहेको छ । खर्चका विषयमा छलफल भइरहेको र एक–दुई दिनमा टुंगो लाग्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।
आयोगले अघिल्ला निर्वाचनमा भन्दा यसपटक फरक रूपमा निर्वाचनको व्यवस्थापकीय तयारी गरिने जनाएको छ । यस वर्ष कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै आयोगले अघिल्ला निर्वाचनमा भन्दा फरक रूपमा आवश्यक तयारी गरिने जनाएको हो ।
सरकारले आगामी कात्तिक २६ र मंसिर ३ का लागि प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी मिति घोषणा गरिसकेको छ ।
निर्वाचन घोषणा लगत्तै आयोगले भने, सरकारलाई दुई चरणमा नभई एकै चरणमा निर्वाचन गर्दा साधन स्रोत कम लाग्ने र खर्च घट्ने तथा कर्मचारी पनि एकैपटक परिचालन गर्न सहज हुने बताएको थियो ।
प्रतिक्रिया