बाढी प्रभावित क्षेत्रमा रोगको जोखिम : कसरी बस्ने सुरक्षित ? (भिडियो रिपोर्टसहित)
७ असार २०७८ काठमाडौं । सिन्धुपाल्चोक, मनाङ, लम्जुङ लगायतका जिल्लाका बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अस्थायी टहरामा राखिएको छ । यसरी समूहगत रुपमा अस्थायी टहरामा बसोबास गर्दा विभिन्न सरुवा रोग लाग्ने जोखिम हुन्छ । यो जोखिमबाट बच्न सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
बाढी प्रभावित सिन्धुपाल्चोक मेलम्चीका केही बासिन्दामा झाडा पखाला देखिएको छ । अहिलेसम्म एकै परिवारका ५ जनामा झाडा पखाला देखिए पनि बाढी प्रभावित सबै क्षेत्रका बासिन्दा यसको जोखिममा छन् ।
बाढी प्रभावित क्षेत्रको पानी फोहोर र जीवाणु युक्त हुने भएकाले त्यस्तो पानी पिउँदा झाडापखाला हैजा लगायतको संक्रमण देखिने खतरा हुन्छ । यो संक्रमणबाट बच्न सकभर उमालेको र नभए पिउसको प्रयोग गरेर मात्रै पानी पिउनुपर्छ ।
त्यस्तै अस्थायी रुपमा बसोबास गरिएको स्थानमा शौचालयको व्यवस्थापन राम्रो हुँदैन । दिसा पिसाब नै रोगको माध्यम हुन्छ । त्यसैले त्यस्तो समयमा दिसा पिसाबलाई व्यवस्थापन राम्रोसँग गर्नुपर्ने हुन्छ ।
अर्को समस्या हो फोहोर । बाढी प्रभावित ठाउँ आफैंमा फोहोर हुन्छ । यस्तोमा खाना बनाउदाँ प्रयोग गरिने तरकारीका बोक्राहरुको राम्रोसँग व्यवस्थापन नहुँदा पनि त्यसले महामारी ल्याउन सक्छ । त्यसैले तरकारीको ब्रोका, खानाहरुलाई खाल्डो खनेर पुर्नु उपयुक्त हुने स्वास्थ्यकर्मीको सुझाव छ ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाले घर जमिन गुमाएका छन् । उनीहरु शोकमा छन् । यस्तो बेलामा उनीहरुले सरसफाइमा ध्यान नदिएको पनि हुन सक्छ । त्यसैले राहत तथा उद्धारका लागि पुगेकाहरुले उनीहरुलाई सरसफाईमा सहयोग गर्नुपर्छ ।
अस्थायी रुपमा समूहगत रुपमा बस्ने भएकाले बाढी प्रभावित क्षेत्रमा कोरोना सर्ने जोखिम पनि उत्तिकै छ । त्यसैले मास्क अनिवार्य प्रयोग गर्ने, साबुनपानीले वा खरानी पानीले हात धुने पनि गर्नुपर्छ । यस्तो बेला बालबालिका गर्भवती महिला, जेष्ठ नागरिकलाई रोग सर्ने सम्भावना बढी भएकाले उनीहरुलाई पोषणा युक्त खानेकुरा खुवाउन स्थानीय सरकारले पहल गर्नूपर्छ ।
प्रतिक्रिया