Main News

सिंहदरबारको गेटमै उपप्रधानमन्त्री राजेन्द्र महतोलाई प्रवेश निषेधको पर्चा

हिमालय टिभी
२०७८ असार ७ गते १८:४९
सिंहदरबारको गेटमै उपप्रधानमन्त्री राजेन्द्र महतोलाई प्रवेश निषेधको पर्चा

७ असार २०७८ काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ ।

उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिणगेटमा पर्चा टाँस गरिएको हो ।

पर्चामा लेखिएको छ – ‘नयाँ पार्टी, नेपालले दिएको समयसीमाभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ । – नयाँ पार्टी, नेपाल’

किन पर्चा टाँस गर्नुभयो भन्ने प्रश्नको जवाफ दिदैँ नयाँ पार्टी, नेपालका प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई आफ्नो नागरिकता बारे स्पष्ट पार्न समयसीमा दिएको र मन्त्री महतोले स्पष्ट नपारेपछि उहाँलाई सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई भन्यौ कि, तपाई नेपाली नागरिक होइन । तपाईको नागरिकता नक्कली छ । झुठो विवरण छ । यो नागरिकता तपाईले सात दिनभित्रमा त्यो नागरिकताको विषयमा स्पष्ट पार्नुस् भनेर हामीले उहाँलाई उहाँको नाममा सूचना जारी गरेका थियौँ । त्यो सूचनाको जवाफ दिनुपर्ने ठाउँमा उहाँले रवाफ दिनुभयो । त्यही भएर हामीले कथित विदेशी नागरिक राजेन्द्र महतोलाई नयाँ पार्टी नेपालले सिंहदरबार प्रवेश निषेध गर्ने र देशभर निषेध गरी यिनको नागरिकता रद्द गरेर देश निकाला गर्ने योजना अन्तर्गत आज हामीले यो सूचना टाँस्नुपरेको हो । निषेध पत्र हामीले टाँस गरेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *