Main News

विपक्षी दलले बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ६ गते २०:३५
विपक्षी दलले बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित (भिडियो रिपोर्टसहित)

६ असार २०७८ बुटवल । विपक्षी दलहरुले बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले प्रस्तुत गरेको बजेटमाथि आज छलफल र अर्थमन्त्रीले उठेका प्रश्नको जवाफ दिने कार्यसूची थियो । तर विपक्षी गठबन्धनले सरकारको बैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेपछि कार्यसूचीमा प्रवेश गर्न पाएन ।

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकार वैध कि अवैध भनेर छुट्याउन माग गर्दै प्रदेशसभा बैठक बहिस्कार गरेको छ । सरकार अल्पमतमा रहेको विपक्षीको दावी छ । त्यसपछि मात्रै प्रदेश सरकारले ल्याएको बजेट पास गर्नतिर सोच्न सकिने विपक्षी गठबन्धनको अडान छ ।

प्रदेशसभामा विशेष समय लिएर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठाउनुभयो ।

यही प्रश्न उठाएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपासहितको विपक्षी गठबन्धनले बैठक बहिस्कार गर्यो । विपक्षी गठबन्धनले बहुमत भए बजेट पारित गरेर देखाउन चुनौती दिएको छ ।

कांग्रेस संसदीय दलका नेता कनौडिया बोले लगत्तै विपक्षी दलहरु प्रदेशसभाको बैठक छोडर बाहिर निस्किए । त्यसलगत्तै सभामुख पूर्णबहादुर घर्तीले सवा ३ बजेसम्मका लागि बैठक स्थगित गर्नुभयो ।

संसद चलाउने सहमति गर्न भनेर केहीबेर छलफल भएपनि संसद पुनः चल्न सकेन । त्यसपछि प्रदेशसभा सचिवालयले असार ९ गतेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस्यो । तर ९ गते पनि बैठक चल्ने नचल्नेयकिन छैन । किनकी सरकार वैधानिक भएको निर्क्यौल भएपछि मात्रै संसद चल्न दिने विपक्षीको अडान छ ।

विपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि आइतबार छलफल हुन सकेन । त्यसैले विपक्षी दललाई पनि साथ लिएर संसद चलाइ बजेट पारित गर्ने सत्तापक्षको रणनीति छ ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । तर मुख्यमन्त्री पोखरेलले आफूसित बहुमत भएको दावी गर्नुभएको छ । त्यसो भए विश्वासको मत लिनुस भन्ने विपक्षीको अडान छ । बजेट पारित गर्ने बेला सत्ता र प्रतिपक्षको अडानका कारण प्रदेश सभा समस्यामा परेको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *