Main News

स्वीस बैंकमा नेपालीको रकम थुप्रनुको कारण के होला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते २०:३२
स्वीस बैंकमा नेपालीको रकम थुप्रनुको कारण के होला ? (भिडियो रिपोर्टसहित)

५ असार २०७८ काठमाडौं । स्वीस बैंकमा नेपालीको रकम थुप्रने क्रम बढ्दै गएको छ । सार्वजनिक पछिल्लो विवरण अनुसार स्वीस बैंकमा नेपालीको रकम एक वर्षमै झण्डै दोब्बर भएको छ । यसले नेपालमा अवैध काम गरेर धन आर्जन गर्ने प्रवृति बढिरहेको देखिएको छ ।

गोपनियता कायम गर्ने भएकाले अवैध रुपमा थुपारिएको धनमाल राख्न स्वीटजरल्याण्डका बैंक रोज्ने गरिएको छ । बचतकर्ताको विवरण गोप्य राखिने र आयस्रोत नखोजिने भएकाले गैरकानूनी तवरबाट आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरिन्छ ।

स्वीस नेशनल बैंकले कसको कति रकम छ भनेर कसैलाई पनि सूचना नदिने भएकाले अवैध रुपमा अकुत सम्पत्ति कमाएकाहरुले यहाँ रकम जम्मा गर्छन् । अहिले स्वीस बैंकमा नेपालीको रकम पनि बढ्दै गएको छ । नेपालमा भ्रष्टाचार बढेको तथ्याङ्क सार्वजनिक गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलले पनि यसलाई त्यसैसँग जोडेर हेरेको छ ।

२०५२ साल देखि २०७७ सम्म स्वीस बैंकमा नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ जम्मा गरिसकेका छन् । यो रकम विगत एक वर्षभित्र दोब्बर भएको हो ।

राष्ट्र बैंकको स्वीकृतिबिना कुनै पनि नेपालीले विदेशमा रकम लैजान नपाउने नियम छ । तर स्वीस बैंकमा भने नेपालीको रकम बढेको बढ्यै छ । अबैध रुपमा आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण नहुँदा स्वीस बैंकमा लगिएको हुनसक्ने जानकारको ठम्याइ छ ।

क्रस बोर्डर भ्रष्टाचारको रकम भएकोले राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण विभाग र सरकारले समेत छानबिनमा तदारुकता देखाउनुपर्ने ट्रान्सपरेन्सी नेपालको सुझाव छ ।

स्वीस बैंकमाथि गम्भीर प्रकारका अपराध, कर छली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखन लगायत गैरकानूनी कार्यबाट आर्जित रकम राखेको आरोप लाग्दै आएको छ । यसरी जम्मा भएको रकम मुलुककै सार्वभौमसत्ताका लागि समेत खतरापुर्ण हुन सक्छ । त्यसैले त्यो रकमलाई फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुहुन्छ पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री ।

गोपनियता नीति, सुरक्षाको हिमाबले पनि विश्वभरबाट स्वीस बैंकमा बचत गर्नेको संख्खा बढ्दै गएको छ । नेपालबाट पनि यसरी अवैध रुपमा रकम बाहिर जानु पक्कै पनि सुखद छैन । यसले मुलुकमा अवैध रुपमा रकम थुपार्ने प्रवृति बढ्दै गएको समेत देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *