तामाकोशीको सहायक नदीमा खसेको पहिरो हटाउने प्रयासमा चिनियाँ सुरक्षाकर्मी (भिडियो रिपोर्टसहित)
५ असार २०७८ काठमाडौं । तामाकोशी सहायक नदीमा पहिरो खसेर बनेको ताल खोल्न प्रयास भइरहेको छ । नेपालसँगको सीमा नजिकै चिनियाँ भूमिमा हिजोदेखि पहिरोले नदी थुनिएको छ ।
पहिरोले थुनिएको तामाकोशी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोलीले प्रयास गरिरहेको छ । हिजो राति चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरोले रोङसी खोला थुनेपछि ताल बनेको छ ।
आज बिहानदेखि ताल खोल्न चिनियाँ पक्षले प्रयास गरिरहेको दोलखा प्रशासनले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय दोलखाले ताल फुटेर तामाकोशीमा बाढी आउन सक्ने भन्दै सूचना निकालेको थियो ।
यसअघि जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गरेर तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको थियो । तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय घटाइएको छ ।
ताल फुटेर बाढी आए केही समयका लागि जलासयमै रोक्नका लागि सतह घटाइएको हो । आयोजनाको जलासयमा डेढ घण्टासम्मको वहाव सन्चित गर्न सकिने क्षमता छ ।
बाढी आइहाले जलासय भरिन समय लाग्ने र सोही बेला तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा लैजान सकिनेछ । तामाकोसीको जलासयले ५ हजार घनमिटरसम्मको पानी थेग्न सक्ने बताइएको छ ।
प्रतिक्रिया