आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने
३ असार २०७८ काठमाडौं ।मनसुन सक्रिय भएसँगै आज पनि देशका अधिकांश स्थानमा मध्यमदेखि ठुलो वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान बुलेटिन जारी गर्दै दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने जनाएको छ ।
अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित भारी वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ । अझै केही दिन वर्षा जारी रहने भएकाले बाढी, पहिरो, डुबानको जोखिम रहेका स्थानका बासिन्दालाई सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
यस वर्ष मनसुन निकै शक्तिशाली भएकाले भित्रिनासाथ देशभर व्यापक वर्षा भइरहेको छ भने बाढी तथा पहिरोले मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधन क्षतिसमेत गराइसकेको छ।
पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ।
प्रतिक्रिया