Main News

बाढीपहिरोबाट तीन अर्ब बढीको भौतिक क्षति

हिमालय टिभी
२०७८ असार ३ गते ८:१०
बाढीपहिरोबाट तीन अर्ब बढीको भौतिक क्षति

३ असार २०७८ काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ।

कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेको छ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले दुई दर्जनभन्दा धेरै जलविद्युत् आयोजना प्रभावित भएको बताउनुभयो। बाढीपहिरोको कारण दोर्दी कोरिडोर, मस्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

अझै पनि सबै ठाउँबाट क्षतिको विवरण आइसकेको छैन। इप्पानका अध्यक्ष आचार्यले बाढीपहिरोबाट निर्माणाधीन जलविद्युत् आयोजनाका निर्माण सामग्री, उपकरण, जलविद्युत् आयोजनाको ड्याम, सुरुङलगायतका संरचनामा क्षति पुगेको बताउनुभयो ।

भौतिक क्षति धेरै भए पनि मानवीय क्षतिबारे भने केही खबर आएको छैन । बाढीपहिरोले विभिन्न ठाउँमा सडकमा समेत क्षति पुर्याएको छ। दुई दर्जनभन्दा बढी ठाउँको सडकमा क्षति पुगेको छ भने एक दर्जनभन्दा धेरै पुल भत्किएका छन्। यसबाट यातायात अवरुद्ध हुन पुगेको छ।

सडक विभागका उपमहानिर्देशक शिव नेपालले सबैभन्दा धेरै क्षति कर्णाली राजमार्ग र सिद्धार्थ राजमार्गमा भएको बताउनुभयो । सडक विभागका अनुसार गएरातीसमम ८ वटा सडक खण्डमा अवरोध कायमै छ।

विभागले अवरुद्ध राजमार्गका ११ स्थानमा एकतर्फी र तीन ठाउँमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको जनाएको छ।

विभागका अनुसार बाढी पहिरोका कारण साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड, डुम्रे–बेसीसहर–चामे सडक खण्ड, साँफेबगर–हड्डेखोला–रिला सडक खण्ड, बेलहिया–भैरहवा–बुटवल–बर्तुङ खण्ड, तानसेन–रिडी–कोरला खण्ड, पाँचखाल–मेलम्ची–टिम्बु सडक खण्ड, पुष्पलाल मध्यपहाडी राजमार्ग, काठमाडौं–धुलीखेल–दोलालघाट–खाडीचौर खण्डलगायतका स्थानका सडक अवरुद्ध भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *