Main News

बाढी पछिको मेलम्ची बजार, दर्जनौं घर यसरी भयो बगरमा परिणत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २ गते २०:१५
बाढी पछिको मेलम्ची बजार, दर्जनौं घर यसरी भयो बगरमा परिणत (भिडियो रिपोर्टसहित)

२ असार २०७८ काठमाडौ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा हिजो आएको बाढीले वितण्डा मच्चाएको छ । बजारका दर्जनौ घर बगाएको छ भने कैयौं डुबेका छन् ।

मेलम्चीको यो सुन्दर बजार एकै रातमा खण्डहर बनेको छ । अविरल वर्षापछि मेलम्ची खोलामा आएको बाढीले बजार बगरमा परिणत भयो ।

मेलम्ची र इन्द्रावती नदीको संगमस्थल रहेको मेलम्ची बजारका तीन तले घरसमेत बाढीमा डुबे । घरका दुई वटा तलासम्म लेदेलो पुरेको छ ।

आफू बसेको घर चारैतिरबाट बाढीले पुरेपछि केहीले घरको छतमा गएर रात कटाए । उनीहरुलाई नेपाली सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार गर्यो।

बाढीले तिम्बु , चनौटे , तालामाराङ , मेलम्ची बजार, याङ्री क्षतविक्षत बनेको छ । बाढीले मेलम्ची बजार र नदी आसपासका ५ सय जना विस्थापित छन् । अधिकांशको घर बाढीले डुबेको छ । जस(जसको घर डुबेको छ उनीहरुसँग जिउमा लगाएको लुगा बाहेक अरु केही छैन ।
विस्थापित तीन सय जनालाई नेपाली सेनाको क्याम्प र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ ।

सडक र सडकका घरसम्म बाँकी नराखेको बाढीले मेलम्ची खोला किनारका ट्राउट फार्म र खेत बाँकी राख्ने कुरै भएन । ट्राउट फार्म, तरकारी फार्म र किसानको हजारौँ रोपनी उब्जाउ जमिन बाढीले बगर बनाएको छ ।

यो बाढीले मेलम्ची खोलाका ३ वटा पक्की पुलमा क्षति पुगेको छ । मेलम्चीमै रहेको ऐतिहासिक झोलुङ्गे पुलसमेत बगाएको छ ।

बाढीले काठमाडौंमा पानी ल्याउन बनाइएको मेलम्ची खानेपानी आयोजनाको ड्याममा समेत क्षति गरेको छ।

मेलम्ची बजार भन्दा निक्कै माथि रहेको हेलम्बुमा गएको यो पहिरोका कारण मेलम्ची खोला थुनिएको र पछि थुनिएको ठाउँ खुलेपछि बाढी आएको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *