Main News

सिन्धुपाल्चोक सधै यस्तो प्राकृतिक विपद्को पीडामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २ गते २०:०५
सिन्धुपाल्चोक सधै यस्तो प्राकृतिक विपद्को पीडामा (भिडियो रिपोर्टसहित)

२ असार २०७८ काठमाडौं । वर्षा सुरु भएसँगै देशभरी नै बाढी पहिरोले क्षति गर्छ । हरेक वर्ष यस्तै हुन्छ । तर प्राकृतिक विपदबाट बढी क्षति भने सिन्धुपाल्चोकमा हुने गरेको छ । जिल्लाका अधिकांश स्थान बाढी पहिरोको उच्च जोखिममा छन् । भौगर्भिक बनावटका कारण पनि सिन्धुपाल्चोकमा प्राकृतिक विपदबाट बढी क्षति हुने गरेको विज्ञको तर्क छ ।

यो वर्ष मनसुनसँगै बाढी पहिरोको कहर पनि शुरु भएको छ । र बाढीले पहिलो शिकार नै सिन्धुपाल्चोकलाई बनाएको छ ।

सिन्धुपाल्चोकको यो क्षेत्रमा ठूलो बाढी पहिरो आएको यो पहिलो पटक होईन । अहिले मेलम्ची खोला आसपासका बासिन्दा प्रभावित भए पनि यसअघि भोटेकेशी र सुनकोसीको बाढी र त्यसपासको पहिरोले सिन्धुपाल्चोकका बासिन्दा पटक पटक प्रभावित हुने गरेका थिए ।

२०७१ सालमा पनि जुरेको पहिरोका कारण सिन्धुपाल्चोकको राम्चेमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए ।

७२ सालको भूकम्पले सिन्धुपाल्चोकलाई नै धेरै दुख दियो । भूकम्पले ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो । ७८ हजार ५ सय ३७ घर पूर्ण रूपमा क्षति भए । ७३ सालको असारमा भोटेकोशीको बाढीले लिपिङ्ग तातोपानीमा व्यापक क्षति गर्‍यो । ७४ सालमा लार्चामा र ७५ सालमा साँधीखोलामा बाढी पहिरोले क्षति गर्‍यो ।

पोहोर बाह्रबिसे, लिदी बुल्कोटे, लार्चा, फुल्पिङ्गगाउँ बाढी पहिरोको चपेटामा पर्‍यो । सिन्धुपाल्चोकमा पटक पटक बाढी पहिरो आउने गरेको छ र त्यसको कारण हो यहाँको भुबनोट । भूगर्भविद्का अनुसार सिन्धुपाल्चोकमा बस्ती नै गलत ठाउँमा बसेको छ ।

राष्टिय पुनर्निर्माण प्राधिकरणले त केही बस्ती सार्न नै सिफारिस गरेको थियो । सिन्धुपाल्चोकमा बाढी पहिरो गइरहे पनि बाढी पहिरो गएकै ठाउँमा बस्ती बसाइएको छ । त्यसैले अहिले पहिरो गएका ठाउँ मात्र हैन । सिन्धुपाल्चोकका अधिकांश क्षेत्र जोखिममा छन ।

संवेदनशील क्षेत्रको ख्यालै नगरी सडक खन्नु, सडक बनाउँदा खोलाको छेउबाटै लैजानु पनि जोखिमका कारण हुन । त्यसैले बाढी पहिरोबाट हुन क्षति रोक्न सरकारले तुरुन्त कदम चाल्नुपर्ने विज्ञको सूझाव छ ।

मनसुन सुरु भएसँगै देशका विभिन्न भुभाग बाढी र पहिरोको उच्च जोखिममा रहेको भन्दै विज्ञहरुले सचेत गराउँदै आएका छन् । तर विपदबाट हुने क्षति न्युनिकरणका लागि खासै काम हुन सकेको छैन ।

सरकारले जोखिमपूर्ण ठाउँको पहिचान नगर्दा र पूर्वतयारी नगर्दा देशका विभिन्न भुभागमा बाढी पहिरोबाट क्षति भैरहेको छ । यसको विकल्प नखोजे वर्षेनी यस्तै स्थिति बेहोर्नु नियति नै बन्ने छ । त्यसैले जोखिमपूर्ण बस्ती पहिचान गरी सुरक्षित ठाउँमा सार्नु नै सही विकल्प हुन सक्छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *