Main News

सिन्धुपाल्चोकको मेलम्चीमा भिषण बाढी, ६ जना बेपत्ता, विस्तृत विवरण आउन बाँकी

हिमालय टिभी
२०७८ असार २ गते ७:३२
सिन्धुपाल्चोकको मेलम्चीमा भिषण बाढी, ६ जना बेपत्ता, विस्तृत विवरण आउन बाँकी

२ असार २०७८ चौतारा । मनसुनको सुरुवातमै भएको अविरल वर्षाले देशका विभिन्न भागमा विनाश निम्त्याएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले ६ जनालाई बगाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएकाहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

उनीहरुको पूर्ण विवरण आएको छैन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाब बेलुकी करिब ६ बजेदेखि बढ्दै आएको थियो ।

मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प ध्वस्त बनाएर उर्लिएको बाढीले वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग चलेको थियो । बाढीले ३ वटा पुल बगाएको र धेरै स्थानमा बाटो कटान गरेको शेर्पाले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका अन्तर्गत तल्लो तिम्बु बजार बगाएको, किउलमा रहेको रेन्बो ट्राउट फर्म बगाएको र नदी छेउमा रहेको केही घर बगाएको जानकारी आएको अध्यक्ष शेर्पाले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार जिल्लाको बलेफी खोलामा बाढीले खतराको तह नाघेको छ।

बाह्रविसेको भोटेकोसी नदी क्षेत्रमा पनि पानीले खतराको तह नाघेको छ । दुवै क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन भनिएको छ ।

यस्तै मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची–इन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले सामान्य क्षति पुर्याएको मेलम्ची प्रहरी कार्यालयले जनाएको छ । मेलम्ची बजारमा जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *